PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

न्युरोडमा फोटो कन्सर्न खोलेर व्यवसायिक फोटोग्राफी थालेका डिबी थापा रहेनन्



पहिलोपोस्ट

न्युरोडमा फोटो कन्सर्न खोलेर व्यवसायिक फोटोग्राफी थालेका डिबी थापा रहेनन्

काठमाडौँ : नेपालमा फोटो खिच्ने चलनै नभएको बेला न्युरोड पिपलबोट नजिकै फोटो कन्सर्न खोलेर व्यवसायिक फोटोग्राफीमा हात हालेका डिबी (डम्बरबहादुर) थापाको आज बिहान ११ः४५ बजे निधन भएको छ। 

गत ११ दिनदेखि काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत थापाको निमोनियाका कारण निधन भएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जनाएको छ। 

ढाडमा सङ्क्रमणसमेत भएका ८३ वर्षीय थापालाई पाँच दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरे पनि बचाउन सकिएको थिएन।

आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरियो। उनको पार्थिव शरीरमा छोरा सन्तोष थापाले दागबत्ती दिएका थिए।  

फोटो कन्सर्नबाट कोडाक कम्पनीका फिल्म र पेपरको व्यापार गर्ने थापाले फिल्म निर्माणमा पनि हात हालेका थिए। ‘नासो’, ‘श्रीस्वस्थानी’, ‘माइली’ आदि चर्चित र सफल चलचित्रको दर्जामा पर्छन्। उनले ‘मायाप्रीति’, ‘जीवन–ज्योति’, ‘धर्ती–आकास’लगायत आधा दर्जनभन्दा बढी चलचित्र निर्देशन गरेका थिए। ‘जीवन–ज्योति’ र ‘धर्ती–आकास’ दुई चलचित्र अन्तर्राष्ट्रिय बजारसम्म पुगेका थिए। कारण यी चलचित्र श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशका निर्माताले संयुक्त रुपमा लगानी गरेका थिए। 

नेपालको पहिलो चर्चित विज्ञापनका रुपमा रहेको शर्मिला मल्ल अभिनित एभरेस्ट टुथपेस्टको विज्ञापनको निर्देशन पनि उनैले गरेका थिए। 

चलचित्र विकास कम्पनी, बालाजुको पहिलो अध्यक्ष रहेका थापा करिब आठ वर्षसम्म सो पदमा रहेका थिए। चलचित्र वितरकसमेत रहेका उनी नेपाली चलचित्रमा नयाँ प्रविधि भित्र्याउने व्यक्तिका रुपमा समेत चिनिहन्छन्।  राससको सहयोगमा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell