
काठमाडौं : इन्डोनेसियामा आयोजना हुने १२ औं एसकेआईएफ विश्व कराते च्याम्पियनसिपमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। च्याम्पियनसिप अगस्ट २६ र २७ मा आयोजना हुनेछ।
नेपालबाट एकल कातामा रुसाली श्रेष्ठले प्रतिस्पर्धा गर्नेछिन्। भेट्रान्स एकल कातामा निवासगोपाल वैद्य र ओमनारायण श्रेष्ठ तथा एकल काता/कुमुतेमा दिनेश श्रेष्ठ र शत्रुघन महर्जनले प्रतिस्पर्धा गर्नेछन्।
च्याम्पियनसिप हुनु अघि अगष्ट २४ र २५ मा इन्डोनेसियामै हुने सेमिनारमा निवास, ओम, दिनेश, शत्रुघन तथा डा. कस्मिरा काकाडीले भाग लिने बताइएको छ। अफिसियलमा दीपक श्रेष्ठ, मुकुन्द श्रेष्ठ र सिर्जना श्रेष्ठ रहेका छन्।
च्याम्पियनसिपमा सहभागी हुन नेपाली सोतोकान कराते टोली सोमबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सातदोबाटोमा सोमबारै बिदाइ गरे।