
काठमाडौं : मङ्गोलियमा जारी एएफसी कप फुटबलको प्लेअफ छनोटको आफ्नो दोस्रो खेलमा नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्री स्टार क्लबले मङ्गलबार कम्बोडियाको नागावर्ल्ड क्लबसँग खेल्दैछ।
मङ्गोलियाको उलानबटारस्थित मङ्गोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा थ्री स्टार र नागावर्ल्ड नेपाली समयानुसार दिउँसो २:४५ बजे आमनेसामने हुनेछन्। थ्री स्टारले पहिलो खेलमा आयोजक मङ्गोलियाकै एर्चिम क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो।
समूह बी मा रहेको थ्री स्टारले जारी प्रतियोगितामा ३ अङ्क जोड्दै पहिलो स्थानमा छ। शीर्ष स्थानमा भएको हुनाले थ्री स्टारको अर्को चरणमा जाने सम्भावना बलियो छ। यद्यपि विपक्षी टोलीलाई कमजोर भने मान्न नहुने कप्तान विक्रम लामा बताउँछन्। नागावर्ल्डसँगको खेलमा पूरा शक्ति लगाएर खेलेमा राम्रो नतिजा आउनेमा कुनै शंका नरहेको कप्तान लामाको विश्वास छ।
त्यस्तै थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसीले नागावर्ल्ड नयाँ टोली भएकाले सुरुवाती १०–१५ मिनेट खेल हेरेर त्यस टोलीको कमजोरी र बलियो पक्ष थाहा पाएपछि त्यहीअनुसारको रणनीति अपनाउने बताए। उता नागावर्ल्डका प्रमुख प्रशिक्षक मियास चानाले पर्याप्त तयारी गरेर टोली मङ्गोलिया आएको बताएका छन्।
मङ्गलबारको खेलमा थ्री स्टार विजयी भए स्वतः एएफसी कप फुटबलको अर्को चरणमा पुग्नेछ भने अन्य नतिजा आएमा नागावर्ल्ड र एर्चिमबीचको खेलको नतिजा कुर्नुपर्नेछ। तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा ९ टोलीको सहभागिता रहेको छ। तीनै समूहबाट समूह विजेता टोली अर्को चरणमा पुग्नेछ। रासस