काठमाडौँ : सडक दुर्घटनामा ज्यान गुमाएकामध्ये ४० प्रतिशत पैदल यात्रु रहेका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल स्काउटको संयुक्त आयोजनामा आज यहाँ आयोजित सडक सुरक्षा सचेतना कार्यक्रमको समापन कार्यक्रममा बोल्दै महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले आव २०७२/७३ मा सडक दुर्घटनामा दुई हजार छ जनाको निधन भएकामध्ये ८०० जना पैदल यात्रु रहेको बताए।
उनले भने, “बर्सेनि सडक दुर्घटनाबाट यति धेरै मानिसको मृत्यु हुने गरेको छ यसलाई न्यूनीकरण गर्न सबैले आफ्नो घर र छरछिमेकमा जनचेतना जगाउनु आवश्यक छ।” अर्यालले एकछिनको हतारोमा मानिसको ज्यान जाने गरेको भन्दै हतार नगरी बाटो काट्न वा सवारी चलाउन आग्रह गरे।
नेपाल स्काउटका व्यवस्थापक रवीन दाहालले ट्राफिक व्यवस्थापन र सुरक्षा कक्षा काठमाडौँ उपत्यकामा मात्र सीमित नराखी देशका व्यस्त सहरमा पनि सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरे।
महाशाखाका प्रहरी नायब उपरीक्षक सविन प्रधानले गत साउन ९ गतेदेखि काठमाडौँका विभिन्न विद्यालयका विद्यार्थीमार्फत पैदलयात्रु र चालकलाई जनचेतना दिएको बताए। उनले भने, “जनचेतना दिएका पैदलयात्रु तथा चालकले पुनः गल्ती गरे कानुनी कारबाही गर्छौं।”
जनचेतनाका लागि नोबेल स्कुल, लालीगुराँस, श्वेतसदन, जुद्धोदय, इपिएसलगायत १४ विद्यालय र लिङ्कन, सेन्जिभियर्स, मोर्गान, ओरियन्ट कलेजका विद्यार्थी सहभागिता रहेको प्रधानले बताए। कार्यक्रममा स्वयम सेवक विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो। रासस