
काठमाडौँ : कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आज आफ्नो ४२ औँ जन्मदिन प्रज्ञा प्रतिष्ठान कम्पाउण्डभित्र मनाइन्। विभिन्न हास्य कलाकारसहित पूर्व प्रधान सेनापति रुक्मांगद कटुवालको उपस्थितिबीच उनले केक काटिन्। गाईजात्रा विशेष कार्यक्रम हेर्न उपस्थित कटुवालले जन्मदिनको शुभकामना दिएका हुन्।
दीपाश्री निरौलाले बाल्यकाल सम्झिदै आफूले जन्मदिनको दिन नयाँ लुगा नपाएसम्म खाना नखाएको किस्सा सुनाइन्।
हास्यकलाकार जितु नेपालले उनलाई धनियाँ उपहार दिए। नेपालले दीपाको रेडियो कार्यक्रम 'धनियाँकी दुनिया'को नामलाई व्यङग्य गर्दै धनिया उपहार दिएका हुन्।
जन्मोत्सवको अवसरमा दीपाश्री निरौलाको आर्थिक सहयोगमा काठमाडौंको विभिन्न विद्यालयमा पढ्दै आएको ८ बालबालिका पनि उपस्थित थिए।
श्रमशील विद्यापिठ नेपाल काँडाघारीमा दीपाश्रीको सहयोगमा पढ्दै गरेकी अनुजा सिवाकोटीले दीपाश्री आफ्नो दोस्रो आमा भएको बताइन्। चार कक्षामा पढ्ने उनी आफ्नी आमासँग बस्दै आएकी छिन्। बुबाले अर्की श्रीमती ल्याएर निकालेपछि उनकी आमा सीता सिवाकोटी, उनी र उनको भाइ दोलखाबाट काठमाडौं आएका हुन्।
दीपाश्रीले भनिन्,'शिक्षा नै सबैभन्दा महत्वपूर्ण भएको समयमा कुनै बच्चा पैसाको अभावले पढाईबाट वञ्चित भएको देख्न नसकेर अनुजा लगायत अन्य ७ बालबालिकालाई पढ्न सहयोग गरेकी हुँ।'
उनले हरेक वर्ष तिनै बालबालिकासँगै जन्मदिन मनाउँदै आएकी छिन्।