
काठमाडौं : युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले रचनात्मक रुपमा आलोचना गर्न खेलकुद पत्रकारहरुसँग आग्रह गरेका छन्।
खेलकुद पत्रकार मञ्चले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा श्रीपालीले आफू खेलाडीबाटै खेलकुद मन्त्रीसम्म बनेको भन्दै अब नेपाली खेलकुदमा नयाँ ढंगले काम गर्ने बताए।
'मैले नेपाली खेलकुदलाई सकरात्मक र नकरात्मक रुपमा साह्रै नजिकबाट बुझेको छु, नराम्रो कुराहरुलाई कसरी हल गर्ने भन्ने पनि बुझेको छु,' उनले भने, 'तर म सफल वा असफल के हुने भन्ने तपाईहरुकै हातमा छ।'
अहिले सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रबाट मन्त्री बनेका श्रीपालीले अप्ठेरो परिस्थितिको सामना गर्न पनि आफू तयार रहेको बताए।
'मैले सैन्य जीवनमा कुशल कमाण्डरको भूमिका निभाएँ, खेलाडी पनि हुँ, पिएलए स्पोर्ट्सको अध्यक्षसम्म भए,' उनले आफ्नो पृष्ठभूमि खोतल्दै भने, 'अहिले राजनीतिक भूमिकामा छु। त्यसैले मलाई अप्ठ्यारो अवस्थामा कसरी अगाडि बढ्नु पर्छ राम्रैसँग थाहा छ।'
अब नेपाली खेलकुदमा क्रमभंगता हुने भन्दै उनले खेलकुदमा नयाँ ऐन, नीति, नियम कार्यान्वयन गर्नेमा लागिपर्ने बताए।
नेपाली खेलकुदलाई नियमबद्ध र अनुशासित ढंगमा अगाडि बढाउन आफ्नो जोड रहने उनले बताएका छन्।
सातौं राष्ट्रिय खेलकुद र नेपालमै हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुदका लागि तयारी तीव्र पार्ने भन्दै उनले थपे, 'तत्कालका लागि आफूले नयाँ खाका तयार गरिरहेको छु। भौतिक पुर्वाधार लगायत खेलकुदमा गर्नुपर्ने केही प्राविधिक कामको सुरुवात भइसकेको छ।'
खेलाडीलाई नेपालमै बाँच्न सक्ने स्थितिको अवसर सिर्जना गर्ने, खेलाडीलाई गौरव गर्न लायक बनाउने र खेलाडी हुँ भन्ने भावना जगाउने गरी काम गर्ने प्रतिबद्धता समेत उनले गरेका छन्।
'म तपाईंहरुको दिमागमा रहन चाहन्छु, हामी बीचको सहकार्य कायमै रहोस्,' उनले पत्रकारसमु भने।
कार्यक्रममा खेलकुद पत्रकार मञ्चका कार्यवाहक अध्यक्ष देवेन्द्र सुवेदीले नेपाली खेलकुदमा समस्या धेरै रहेकाले समस्याको समाधान गर्न सक्नु नै मन्त्रीका लागि च्यालेन्ज रहेको बताए।
यस्तै मञ्चका पूर्व अध्यक्ष तथा एआइपिएस एसियाका कोषाध्यक्ष निरन्जन राजवंशीले मञ्चको स्थापना, यसको विकासक्रम, काम र यसले गर्दै आएको स्पोर्ट्स अवार्डको बारेमा मन्त्रीलाई जानकारी गराएका थिए।