वीरगन्ज : सेताम्मे भइसकेको छ दाह्री र कपाल। चाउरी परेको अनुहारमा पीडा र यातनाको धर्सो सलबलाइरहेको सहजै अनुमान गर्न सकिन्छ।
‘हजुर, मलाई यो नर्कबाट निकाल्नुहोस्,’ भक्कानिन खोज्दै एक ७३ वर्षीय वृद्ध वेदनापूर्ण स्वरमा लोक भोजपरी लयको गीतको सहारा लिन पुग्छन्, 'विधनाके हाल केहु ना जानी (भविष्यको कुरा कसैलाई थाहा हुँदैन)।'
'छोरा भनेपछि बूढो बुवाको साहारा हुन्छ भनी सुनेको थिएँ तर यस्तो जगहसाइँ गर्ने काम आफ्नै छोराले गर्यो,' उनी दु:खको पीडा सल्लल बगाउन थाल्छन्। हामी सुनिरहन्छौं मात्रै।
कुनै फिल्मको दुखद कहानीझैं लाग्छ यो दृश्य। तर यही यथार्थ भोग्न विवश छन्, वृद्ध तपसी दास तात्वा।
आफ्नै छोराबाट निकालिएका वृद्ध बाबुको मन कति पोल्दो हो। त्यति बेला हाम्रो पनि मनभित्र आगोको झिल्को उठेको थियो।
‘छोराबुहारी र पत्नी मिलेर धनको लागि घरनिकाला गरेका छन्,’ थाप्लोमा हत्केला राख्दै यी वृद्धले सुनाए। तर परिवारका अन्य सदस्यका साथै छोरा गौरीशंकरलाई कुनै मतलब छैन।
***
स्थानीय सञ्चारमाध्यममा छोराले वृद्ध बुवालाई घरनिकाला गरेको खबर आएपछि सञ्चारकर्मीको एक टोली इनार्वा गाउँ हान्नियो।
वीरगन्जबाट बाराको नितनपुर हुँदै हामी मोटरसाइकलमा पुर्वतर्फ लाग्यौं। आधा घन्टाकी खाल्डाखुल्डी ग्राभेल बाटो पार गरेपछि इनार्वा गाउँको चोक आइपुग्यो।
चोककै दक्षिणपट्टि पर्छ इनार्वा।
वडा नम्बर ५ र तपसीको नाम सोध्दै पुग्दा उनको सानो खपडाको घरमा ताला झुन्डिरहेको थियो। छोरा बस्ने घर भने उदांगो देखिन्थ्यो।
चोकभन्दा करिब ५ सय मिटर दक्षिणमा बुवा र छोरा छुट्टाछुट्टै बसिरहेका छन् अहिले।
हामीले यसबारे छिमेकीसँग कुरा बझ्यौं। दुवैलाई भेट्नका लागि खबर पनि पठायौं।
'तपसी चोककै शिवमन्दिरमा सुतिरहेका छन्। गौरीशंकर चाहिँ चोककै एउटा घरमा तास खेलिरहेका छन् रे,' एक गाउँलेले भने।
केही बेरमा खबर पाएर दुवै घर आए।
धोती, गन्जी र गम्छा गर्दनमा राखी तपसी हतारिँदै हामी नजिकै बसे।
तपसीका सन्तानका नाममा एक्लो छोरा गौरीशंकर नै हुन्, उनैले घरबाट लखेटे। पाँच छोरीहरु सबैको बिहेबारी भइसकेको छ। अहिले गौरीशंकरसँगै बस्छिन् तपसीकी पत्नी।
पहिले तीन बिघा जग्गा थियो तपसीसँग। हाल उनको नाममा १० कठ्ठाको मात्र लालपूर्जा बाँकी छ। 'दुई बिघा १० कठ्ठा छोराले जुवा र खानपिनकै लागि बेच्न लगायो,' उनी मसिनो स्वरमा सुनाउँछन्।
आफूलाई हत्या गर्ने उद्देश्य बुझेपछि प्रहरीलाई खबर पनि गरे तपसले। इलाका प्रहरी कार्यालय इनार्वाशिराको कार्यालयमा केही दिन गौरीशंकर बसिसकेका छन्।
एक लेखनदाससँग कुरा मिलाएर जग्गा बेच्न तमसुकमा सही गराएको पनि उनले हामीलाई सुनाए। यसरी प्रताडना खेपिरहे पनि उनको न्यायको लागि गाउँमा कोही बोल्न तयार छैनन्। 'छोरोले बोल्ने मान्छेलाई धम्की दिन्छ। पञ्च र छिमेकी पनि उसकै पक्षबाट बोल्छन्,' उनले हामीसँग भने।
बिहान ११ बजे आफैंले खाना पकाउँछन् उनी। बाँकी दिन मन्दिरको प्रांगणमै गुज्रिन्छ। राम्रो भजन गायक पनि हुन् उनी। कहिलेकाहीँ ज्यालादारी गरी रकम जुटाउँछन्।
‘यो दुनियाँमा मेरो कोही छैन अब। जन्माएको छोरोले त चिनेन, बुढी हेर्न छाडी,' भुइँतिर एकोहोरो हेर्दै उनी भन्छन्, 'कुरा छोड्नुस् हजुर। सबै पराई भइदिए।'
उनको दु:खदायी घटना सुनेपछि हामीले छोरा गौरीशंकरसँग पनि यथार्थ बुझ्न चाह्यौं। तर उनी भने 'बुवाले घरको कुरा संसारलाई सुनाएर परिवारको इज्जत बर्बाद पारेको' बताउँछन्।
'घरखर्च र दिदीबाहिनीको बिहेबारीमा जग्गा बिक्रीबाट आएको पैसा खर्च भएको हो,' उनले पुष्टि गर्न खोजे, 'बुवा भएर सबैमाथि शंकाको दृष्टि राख्नु गलत हो।'
'बुवालाई किन घरबाट निकाल्नुभएको?' हामीले प्रश्न गर्यौं।
तर उनले घरनिकाला गरेको स्विकार गर्दैनन्। 'सँगै बसेर खानपिन गर्न र बस्न चाहे मलाई कुनै पीर छैन,' उनले भने।
वृद्ध तपसीको अवस्था बुझेपछि हेटौंडाको एक संस्थाले चासो देखाएको छ। दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलका केन्द्रीय सल्लाहकार केदार न्यौपाने र शाखा सचिव अर्जुन पोखरेल वृद्ध तपसीलाई उद्धार गर्ने तयारीमा छन्। यदि तपसी राजी भए उनलाई हेटौंडा लगी औषोधोपचार र आश्रयको व्यवस्था मिलाउने संस्थाले जनाएको छ।