सुरुङ्गा (झापा) : धर्म परिवर्तन गराउन खोजेको आरोपमा एक अमेरिकी नागरिकलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अमेरिकाको फ्लोरिडा निवासी ७० वर्षीय फोमेस डोलान छन्। प्रवेषाज्ञा बिना भारतीय बाटो हुँदै नेपाल आइपुगेका उनलाई दक्षिणी झापाको बनियानी–४ स्थित होस्मा एकेडेमी क्रिस्चियन चर्चबाट पक्राउ गरिएको हो।
पक्राउ परेका उनले स्थानीयवासीको उपचार गराउने नाममा धर्म परिवर्तन गराउन खोजेको आरोप छ। उनी आफूलाई चिकित्सक भएको दाबी गर्दै आएका थिए। उपचार गराउन आउनेले येशुलाई सम्झँदै सिन्दुर पखाल्नुपर्ने र पोते पनि फुकाल्नुपर्ने सर्त राखेपछि स्थानीयबासीले खबर गरेपछि प्रहरीले पक्राउ गरेको हो।
प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माका अनुसार ग्रामीण भेगका नागरिकलाई म डाक्टर हुँ भन्दै अनाथ तथा टुहुरा बालबच्चाको हेरचाहको लागि आएको र गाउँलेलाई धर्म परिवर्तनका लागि दबाब दिएको बुझिएपछि पक्राउ गरिएको हो।
पक्राउ परेका डोलानले आफू दोस्रोपटक नेपाल आएको प्रहरीलाई बयान दिएका छन्।