PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

तीन लाख अनियमितता गरी तीन महिना हराउने सचिव पुन: एक महिना गायब



रासस

पाँचथर : जिल्लाको दक्षिणी गाविस हाङ्गुमका सचिव केशव निरौला बेपत्ता भएको भनेर सबै खोजीमा जुटिरहेका बेला उनी झापास्थित आफ्नै घरमा भेटिएका छन्।
 
३२ दिनदेखि सम्पर्कविहीन बनेका निरौलाको खोजी गर्दैजाँदा घरमा मस्ती गरेर बसेको अवस्थामा फेला परेका हुन्। गाविस कार्यालयमा बिदा समेत नलेखेर एकाएक हराएका उनका स्थानीय सेवाग्राहीले एक महिनादेखि सास्ती बेहोर्नुपरेको थियो।
 
प्रहरीले निरौलालाई झापाको दुहागडी–१ स्थित घरमा फेला पारेको हो। स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले जिल्ला प्रहरी कार्यालय पाँचथरलाई सचिव निरौलाको खोजी गरिदिन आग्रह गरेका थिए।
 
धमलाले सम्पर्कविहीन भएर किन घरमा बसेको भनेर स्पष्टिकरणसहितको पत्र पठाएको प्रशासन फाँटका प्रमुख दुर्गाप्रसाद तिम्सिनाले जानकारी दिएका छन्।
 
सचिव निरौला साउन ६ गतेदेखि सम्पर्कविहीन थिए। साउन १९ गतेदेखि उनको जिम्मेवारी आरुबोटेका सचिव सञ्जय राईलाई दिइएको थियो।
 
निरौला आफ्नो कार्यालयलाई जानकारी नै नदिई बेपत्ता भएको यो दोस्रो पटक हो। यसअघि सिदिन गाविसको सचिव हुँदा करिब तीन लाख रुपैयाँ अनियमितता गरेर झन्डै तीन महिना सम्पर्कविहीन भएका थिए। निरौलाका विषयमा जिविस पाँचथरमा राम्रो रेकर्ड रहेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell