
काठमाडौं : बढुवाका लागि नक्कली शैक्षिक योग्यता पेस गर्ने स्वास्थ्य मन्त्रालयका एक कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ।
मन्त्रालयका कर्मचारी सुनिल आचार्यले आइएस्सीको नक्कली प्रमाणपत्र बनाई एमबिबिएर पढेको र नेपाल मेडिकल काउन्सिलबाट मेडिकल काउन्सिल सदस्यता दर्ता नम्बर प्राप्त गर्दै सरकारी नियुक्ति लिएको उजुरीको आधारमा
आरोपपत्र दायर गरिएको आयोगको भनाइ छ।
उनी २०६३ फागुन २७ गते नेपाल स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेस समूह, मेडिकल अधिकृतको सातौं तहमा प्रवेश गरेका थिए। ०७३ वैशाख २४ गते बाट भने उनी नेपाल स्वास्थ्य सेवा अब्स्ट्रेटिक तथा गाइनोकोलोजी समूह, कन्सलटेन्ट अब्स्ट्रेटिक तथा गाइनोकोलोजिस्ट नवौं तहमा बढुवा भए।
उनले राजाराम साह कलेज रक्सौल भारतबाट सन् १९९७ मा आइएस्सीको प्रथम श्रेणीमा उत्तीर्ण नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र लिएको आयोगको विज्ञप्तिमा भनिएको छ।
उनलाई भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र दफा २९ (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिम आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।