काठमाडौं : नेपाल विद्यार्थी संघको पहिलो केन्द्रीय समिति बैठक भोलि बस्ने भएको छ।
६८ सदस्यीय कार्यसमितिबाट एक सय ५१ सदस्यीय बनाएर ११औं महाधिवेशन गरेको नेविसंघमा अहिले १२९ सदस्य बहाल छन्। थप २२ जनाको भने नियुक्ति भएको छैन।
जम्बो केन्द्रीय समितिको बैठक बस्न नेविसंघ कार्यालयमा ठाउँ अभाव भएपछि राष्ट्रिय सभागृहमा गर्न लागेको हो।
भदौ १ र २ गते भएको मतदानबाट नैनसिंह महरको अध्यक्षतामा १२९ सदस्य रहेको नेविसंघ केन्द्रीय समिति निर्वाचित भएको थियो। निर्वाचित उम्मेदवारहरुलाई भोलि नै निर्वाचन समितिले विजयी भएको प्रमाणपत्र वितरण गर्न लागेको छ।
'निर्वाचन समितिले बिहान ८ बजे प्रमाणपत्र वितरणको कार्यक्रम पार्टी कार्यालयमै राखेको थियो। लगत्तै त्यहीँ केन्द्रीय समिति बैठक बस्ने तयारी पनि थियो,' संघका केन्द्रीय सदस्य सुशील भट्टले भने, 'प्रमाणपत्र वितरणको काम पनि निर्वाचन समितिले प्रज्ञा भवनमै राखेपछि केन्द्रीय समिति बैठक पनि प्रज्ञामै सर्न पुग्यो।'
निवर्तमान कार्यसमितिले राखेको कार्यक्रममा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु आमन्त्रित छन्।
बिहीबारको बैठक औपचारिकता अनुसार महाधिवेशन सफल गराउनलेलाई धन्यवाद दिने तथा स्ववियु निर्वाचनका बरेमा केन्द्रित हुने केन्द्रीय सदस्य भट्टले बताए।
संघको विधानमा ६८ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था भए पनि रञ्जीत कर्णको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउँदा भागबण्डामा थप्दै जाँदा ११० सदस्यीय केन्द्रीय समिति भएको थियो। त्यति बेला पनि संघको बैठक बस्ने ठाउँ नभएर दरबार हाइस्कुल र पद्मकन्या क्याम्पसमा बैठक राखिएको थियो।