PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

कांग्रेसमा मन्त्री छान्न धौधौ, कोही पनि मन्त्री नपठाउने रामचन्द्र पौडेल पक्षधरको निर्णय



रमेश वाग्ले

कांग्रेसमा मन्त्री छान्न धौधौ, कोही पनि मन्त्री नपठाउने रामचन्द्र पौडेल पक्षधरको निर्णय

काठमाडौँ : पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारको प्रमुख साझेदार नेपाली कांग्रेसले आज पनि आफ्ना मन्त्रीको टुङ्गो लगाउन सकेन। कांग्रेसले पाउने १३ मध्ये ६ मन्त्रालयको दाबी गरेको सभापतिमा पराजित रामचन्द्र पौडेल पक्षले चार वटा मात्र पाउने भएपछि छुट्टै भेला गर्दै कोही पनि मन्त्री नपठाउने निर्णय गरेको छ। 

देउवाले पौडेल पक्षलाई चार मन्त्रालय, सिटौला र खुमबहादुरलाई एक तथा बाँकी सात मन्त्रालय आफ्नो पक्षमा राखेको जानकारी गराएपछि  मन्त्रालयको भागबण्डाका विषयमा छलफलका लागि आज बिहानदेखि पौडेल निवास बोहोराटारमा बैठक बसेको थियो। बैठकले कसैलाई पनि मन्त्री नपठाउने निर्णय गरेको पौडेल पक्षीय केन्द्रीय सदस्य तथा सांसद बद्री पाण्डेले पहिलोपोस्टलाई बताए। 

'सभापति देउवाले चार जना मन्त्रीको नाम दिनुस् भन्ने बाहेक कुन मन्त्रालय पाएको हो, के सहमति भएको हो भन्ने कुनै पनि जानकारी हामीलाई दिएका छैनन्', पाण्डेले भने, 'यसबाट उनी एकलौटी हिसाबले चल्न खोजेको देखियो। यदि उनी एकतर्फी रुपमा जान चाहन्छन् भने एकतर्फी रुपमा नै जान दिउँ, हामी मन्त्री नपठाउँ भन्ने निर्णय भयो।'

यसअघि कांग्रेसले नेविसंघको महाधिवेशनका कारण मन्त्री सिफारिश गर्न ढिला भएको बताउँदै आएको थियो। महाधिवेशन सकिएको एक हप्ता बितिसक्दा पनि मन्त्री सिफारिश हुन सकेको छैन। 

​देउवासँग असन्तुष्ट भएर पौडेल पक्षले छुट्टै भेला गरिरहेका बेला देउवा पक्षभित्रै पनि असन्तुष्टि चुलिएको छ। मन्त्री बन्ने आकांक्षीदेखि देउवाले तोकेको पोर्टफोलियो चित्त नबुझाउनेसम्मका असन्तुष्टि देउवा पक्षमा देखिएको छ।
 
मन्त्री बन्ने भनेर प्रचार गरिएका मोहनबहादुर बस्नेत, अम्बिका बस्नेत लगायतको नाम देउवा लिस्टबाट हटेको हल्लाले उनीहरुलाई सिफारिस गर्नेहरु नै देउवासँग असन्तुषट छन्।
 
पूर्वबाट भीष्मराज आङदेम्बे र सूर्यमान गुरुङमध्ये एक जना मन्त्री बन्ने हल्ला चले पनि दुवैको नाम नभएपछि उनीहरु रुष्ट छन्। झापाका वरिष्ठ नेता केशवकुमार बुढाथोकीले त देउवाले मनोनीत गरेको केन्द्रीय सदस्य पद त्याग्न तयार हुँदा समेत मन्त्री बन्न नपाएपछि झनै रिसाएका छन्।
 
यता देउवा पक्षकै केन्द्रीय सदस्य मीन विश्वकर्माले पनि राज्यमन्त्री बनाएर सामान्य प्रशासनको जिम्मेवारी लिने प्रस्ताव अस्वीकार गरेका छन्। सांसद र केन्द्रीय समितिमा दोस्रो कार्यकाल बिताइरहेका विश्वकर्मा अन्तरिम संविधानको मस्यौदा समितिमा समेत थिए।
 
उनले मस्यौदा समितिको सदस्य नै मन्त्री सरहको पोर्टफोलियो भएको भन्दै त्योभन्दा तल झरेर मन्त्री नबन्ने खबर देउवालाई पठाएका छन्। 'सभापतिज्युलाई अफ्ठेरो भए म अहिले मन्त्री नै बन्दिनँ भनेर खबर पुर्‍याएको छु,' विश्वकर्माले भने, 'राज्यमन्त्री नै बन्नुपर्ने कस्टमा म मन्त्री बन्दिनँ।' उनले कसको आइडियाले यस्तो भइरहेको छ भन्ने विषयमा आफू आश्चर्यमा परिरहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell