
इंगलिस क्लब म्यानचेष्टर सिटी, रसियाको एफसी रोस्तोभ, जर्मनीको बोरुसिया मोन्चेनग्लाडवाच, डेनमार्कको एफसी कोपनहेगन र क्रोएसियाको डाइनामो जाग्रेब प्लेअफ राउण्डमा विजयी हुँदै युरोपियन च्याम्पियन्स लिगमा छनोट भएका छन्।
दोस्रो लेगमा रोमानियन कलब स्टेउ बुखारेस्टीलाई १-० ले हराएको म्यानचेष्टर सिटी समग्रमा ६-० ले विजयी हुँदै च्यामिपयन्स लिगमा छनोट भएको हो।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन एक मात्र गोल फावियन डेल्फले गरे।
सिटी छनोट हुँदा चार पटकको च्याम्पियन्स लिग विजेता एजाक्स भने प्लेअफ बाटै बाहिरिएको छ। रसियन क्लब रोस्तोभ एफसीसँग समग्रमा ५-२ ले पराजित भएपछि एजाक्स छनोट हुन असफल भएको हो।
घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा एजाक्सले रोस्तोभसँग १-१ गोलको बराबरी खेलेको थियो। तर रोस्तोभकै मैदानमा खेलेको दोस्रो लेगमा अजाक्स ४-१ गोल अन्तरले पराजित भयो।
सरदार अजमोन, अलेकजान्डर एरोकिन, क्रिस्टियन नोवो र दिमित्री पोलोजले गोल गरे। ८३ औं मिनेटमा रोस्तोभका फेडोरले रातो कार्डमै सामना गरेपछि मात्र अजाक्सका लागि डेभी कलासेनले सान्त्वना गोल फर्काए।
यस्तै बोरुसिया मोन्चेनग्लाडवाचले स्वीस क्लब योङ ब्वाइजलाई समग्रमा ९-२ ले पराजित गर्यो। पहिलो लेगमा ३-१ को जित हात पारेको मोन्चेनग्लाडवाच दोस्रो लेगमा ६-१ ले विजयी भयो। उसका लागि थोर्गन हाजार्ड र राफेलले ह्याट्रिक गरे।
डेनिस क्लब कोभनहेगनले अपोल निकोसियालाई समग्रमा २-१ ले हरायो। दोस्रो लेगमा १-१ गोलको बराबरीमा रोकिए पनि पहिलो लेगमा १-० ले विजयी भएको कोभनहेगन समग्रमा २-१ ले विजयी भयो।
यस्तै क्रोएसियन क्लब डाइनामो जाग्रेवले अष्ट्रियाको साल्जवर्गलाई ३-२ ले हरायो। पहिलो लेगमा १-१ गोलको बराबरी खेलेको डाइनामोले दोस्रो लेगमा भने साल्र्जवर्गलाई २-१ ले पराजित गरेको हो।