PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

बजार अनुगमन र व्यापारी पक्राउ गरेको विरोधमा बजार बन्द



पहिलोपोस्ट

गोरखा : व्यापारीलाई पक्राउ गरी तीन दिनदेखि हिरासतमा राखेको विरोधमा गोरखा उद्योग वाणिज्य सङ्घले आज बिहानैदेखि गोरखा बजार बन्द गराएको छ।
 
सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल व्यक्तिगत पसलबाट बिक्री गर्दै आएका अनिता एग्रोभेटका सञ्चालक रामशरण कोइराला, विशाल किराना स्टोर्सका अनु श्रेष्ठ र श्रेष्ठ किराना स्टोर्सका ईश्वर श्रेष्ठलाई संयुक्त बजार अनुगमन संयन्त्रले मङ्गलबार नियन्त्रणमा लिएको विरोधमा सङ्घले बजार बन्द गराएको हो।
 
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले ‘छापामार शैलीमा व्यापारीलाई जानकारी नगराई बजार अनुगमन गरेको तथा निर्दोष व्यापारीलाई हिरासतमा राखेको’ सङ्घको भनाइ छ। होटल तथा दूध, तरकारी बिक्री गर्ने पसल खुल्ला रहे पनि अन्य पसल बन्द छन्। सडकमा गाडी भने निर्बाध चलेका छन्।
 
सङ्घका महासचिव भगवानबाबु मास्के नेतृत्वको टोलीले बजार बन्द गर्न आह्वान गर्दै बिहानदेखि माइकिङ गर्दै हिँडेका थिए। प्रशासनले भने पक्राउ परेका व्यापारीविरुद्ध कालोबजारी ऐन तथा केही सार्वजनिक अपराध ऐनअनुसार कारबाहीका लागि प्रक्रिया अघि बढाएको छ। थप अनुसन्धानका लागि बुधबार पाँच दिनको म्याद थपिएको छ।
 
अनुदानको मल कृषक समूह वा सहकारीले बिक्री गर्न पाउने भए पनि ती व्यापारीले गाउँका बचत तथा ऋण सहकारीमार्फत मल ल्याई सदरमुकामस्थित व्यक्तिगत पसलबाट बिक्री गर्दै आएको अनुगमन टोलीले बिलसहित फेला पारेको थियो।
 
अनुगमनपछि तीन वटा पसलमा ५० किलोका ३६४ बोरा मल सिलबन्दी गरिएको छ। 'अनिता एग्रोभेटमा १९५ बोरा, विशाल किराना स्टोर्समा ७९ बोरा र श्रेष्ठ किरानामा ५० बोरा मल बिक्रीका लागि राखेको पाइयो,' सहायक प्रजिअ शर्माले भने। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell