
काठमाडौं : उपत्यकाबाट धुलिखेल हुँदै सिन्धुली-बर्दिबास चल्ने सवारी साधनले तोकिएभन्दा बढी भाडा लिएको पाएपछि यातायात व्यवस्था विभागले कारबाही अघि बढाउने भएको छ।
विभागले २०७२ माघ २४ गते समायोजन गरेको भाडा लागू नभएपछि यात्रुले गुनासो गर्दै आएका छन्। विभागले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सो मार्गका यातायात व्यवसायीले तोकेअनुसार भाडा लिन आनाकानी गरेकाले साउन तेस्रो साता सूचना प्रकाशित गरी बढी भाडा नलिन सचेत गराएको थियो।
विभागका प्रवक्ता वसन्त अधिकारी सो मार्गमा सञ्चालन हुने सवारी साधनले तोकिएभन्दा दोब्बर भाडा उठाइरहेको गुनासो आएको बताए। विभागको साउन २१ गतेको निर्णयले गत माघ २४ गते लागू गरिएको भाडादरभन्दा बढी नउठाउन सम्बन्धित सबैलाई सचेत गराएको थियो।
'तोकिएको भाडा लागू भए/नभएको गुनासो आए पनि अनुगमनका लागि विभागसँग यातायात निरीक्षक छैनन्। अन्तर्गतका कार्यालयमा जनशक्तिको अभाव छ,' अधिकारीले भने, 'सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा यातायात क्षेत्रलाई व्यवस्थित गर्न राखिएका प्रावधान कार्यान्वयन नहुँदा यात्रुले तोकेबमोजिम भाडा तिर्न बाध्य हुनुपरेको छ।'
काठमाडौँदेखि धुलिखेल-सिन्धुली-बर्दिबास १८८ किलोमिटर मार्गको भाडा ५१२ रुपैयाँ तोकिए पनि व्यवसायीले एक हजारभन्दा बढी रुपैयाँ उठाउने गरेका छन्। नारायणघाट-मुग्लिन सडक घुमेर जाँदाभन्दा बढी भाडा व्यवसायीले असुल्ने गरेको यात्रु विनित शर्माको गुनासो छ।
तोकिएभन्दा बढी भाडा लिन व्यवसायीले अटेर गरे अनुगमन गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ अनुसार कारबाही गरिने विभागले जनाएको छ। रासस