काठमाडौँ : पाँच मन्त्रालय नभए मन्त्री नै नपठाउने अडान राख्ने रामचन्द्र पौडेल पक्षधरलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा चतुर्याइँपूर्वक 'साँप पनि मर्ने, लट्ठी पनि नभाँच्चिने' उपाय अपनाई भने जत्ति नै मन्त्रालय दिएका छन्। पाँचै मन्त्रालय पाउँदा पनि पौडेल पक्षधर जिल्लिन बाध्य भएका छन्।
कांग्रेसले पाउने १३ मन्त्रालयमा पौडेल पक्षधरले सुरुमा ६ वटा मन्त्रालयमा दावी गरेको थियो। देउवाले भने तीन मन्त्रालयको अफर गरेका थिए। बार्गेनिङको ठाउँ राखिएको थियो- देउवा चारसम्म आउन तयार र पौडेल पाँचसम्म घट्न तयार।
देउवाले चार मन्त्रालयमा सहमतिमा आउन भने पनि पौडेल पक्षधरले हिजो छुट्टै भेला गरी चार मन्त्रालय मात्र दिने भए सरकारमा मन्त्री नै नपठाउने निर्णय गरेको थियो।
उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई लगाएर प्रधानमन्त्रीसँग वार्ता गरी देउवाले यसलाई म्यानेज भने गरे। पौडेल पक्षधरलाई उनीहरुले मागे अनुसार नै पाँच मन्त्रालय दिइयो। तर देउवाले कांग्रेसले पाउने १३ मन्त्रालयलाई बढाएर १५ भने पुर्याउन सफल भए।
पौडेलले १३ मन्त्रालयमा ४० प्रतिशतको भाग खोजे पनि १५ मन्त्रालयमा पाँच गरी ३३ प्रतिशतमा सीमित हुनुपरेको छ।
यी हुन् कांग्रेसबाट बन्ने मन्त्रीहरु र उनीहरुले सम्हाल्ने सम्भावित मन्त्रालय
रामचन्द्र पौडेल पक्षधर
- दीपक गिरी - सिंचाई,
- रोमी गौचन थकाली - वाणिज्य तथा आपूर्ति,
- सीतादेवी यादव - शान्ति तथा पुनर्निमाण,
- हृदयराम थानी - सहकारी तथा गरिबी निवारण,
- नविन्द्रराज जोशी - उद्योग
शेरबहादुर देउवा (संस्थापन) पक्ष
- डा प्रकाशशरण महत - परराष्ट्र,
- बालकृष्ण खाँड - रक्षा
- सूर्यमान गुरुङ - श्रम तथा रोजगार,
- अर्जुननरसिंह केसी - सहरी विकास,
- केशवकुमार बुढाथोकी - सामान्य प्रशासन
- जीवनबहादुर शाही - पर्यटन
कृष्ण सिटौला पक्ष
- गगन थापा - स्वास्थ्य
खुमबहादुर खड्का पक्ष
- शंकर भण्डारी - वन
मन्त्रीहरुको शपथ शुक्रबार हुने भएको छ।