
क्रिस्टियानो रोनाल्डो दोस्रो पटक युरोपको उत्कृष्ट खेलाडी बनेका छन्। रियल मड्रिडका सहकर्मी गारेथ बेल र सहरी प्रतिद्वन्दी एथ्लेटिकोका एन्टोनी ग्रिजमनलाई पछि पार्दै रियल मड्रिडका रोनाल्डो २०१६ को उत्कृष्ट घोषित भएका हुन्।
युइएफका ५५ सदस्य राष्ट्रका पत्रकारहरुले गरेको भोटको आधारमा सर्वाधिक ४० मत प्राप्त गर्दै रोनाल्डोले रोनाल्डो अवार्ड हात पारे। दोस्रो स्थानमा रहेका ग्रिजमनले ८ तथा तेस्रो स्थानको बेलले ७ मत प्राप्त गरे।
३१ वर्षे रोनाल्डोले गत सिजन आफ्नो देश र क्लब दुवैका लागि उत्कृष्ट प्रदर्शन गरे। रियल मड्रिडलाई कीर्तिमानी ११ औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जिताउन भूमिका खेलेका रोनाल्डो आफ्नै कप्तानीमा पोर्चुगललाई युरोकपको उपाधि समेत दिलाए।
रोनाल्डोले गत सिजन ला लिगामा ३५ गोल, च्याम्पियन्स लिगमा १६ तथा युरोकपमा ३ गोल गरेका थिए।
अवार्ड पाएपछि रोनाल्डोले यसलाई ठुलो सम्मान भएको बताए। उनले अवार्ड पाउनुमा क्लब र देशका खेलाडी साथीको सहयोग रहेको र उनीहरु बिना यो सम्भव नहुने समेत बताए।
पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डो यसअघि सन् २०१४ को सिजनमा पनि बेस्ट प्लेअरको अवार्ड जितेका थिए।
दोस्रो पटक अवार्ड जितेसँगै रोनाल्डोले बेस्ट प्लेअर इन युरोपको अवार्ड दुई पटक जित्ने मेसीको रेकर्ड बराबरी गरेका छन्। सन् २०११ बाट प्रदान गर्न सुरु गरिएको यस अवार्ड मेसीले २०११ र २०१५ मा हात पारेका थिए।