PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

आफ्नै आमालाई बारीमा गाड्ने बुद्धिबहादुरले यसरी बुनेका थिए हत्याको तानाबाना



पहिलोपोस्ट

आफ्नै आमालाई बारीमा गाड्ने बुद्धिबहादुरले यसरी बुनेका थिए हत्याको तानाबाना

  • हेमन्त केसी 
जाजरकोट : जग्गा नामसारी गर्न नमानेको कारण सक्ला–१, लैखमका बुद्धिबहादुर खत्रीले साउन २२ गते बञ्चरोले हानेर आफ्नै आमाको हत्या गरे। 

हत्या गर्नु दुई दिनअघि घर नजिकैको बारीमा खाल्डो खनेर दुई दिनपछि आमाको हत्या गरी लास गाडेको प्रहरीले जनाएको छ। सम्पत्तिको लोभमा बुद्धिबहादुरले ६५ वर्षीया आमा देउमतीको हत्या गरेको अनुसन्धानले देखाएको छ।
 
बाबुको मृत्युपछि आमाको नाममा रहेको जग्गा आफ्नो नाममा गर्न नमानेको भन्दै उनलेले निर्ममतापूर्वक हत्या गरेको प्रहरी बताउँछन्।
 
लैखम साँघुतरा नलसिंहगाड जलविद्युत् आयोजना निर्माण गर्दा प्रभावित हुने भएकाले त्यहाँका नागरिकलाई आयोजनाले मुआब्जा दिने भएपछि आमाबाट बुद्धिबहादुरले आफ्नो नाममा जग्गा नामसारी गर्न आमालाई दबाव दिँदै आएका थिए। आमाले नमानेपछि जाजरकोट सदरमुकाम जाँदा बाटोमै भिरबाट खसालेर मार्ने योजनासमेत रहेको बुद्धिबहादुरले स्वीकार गरेका छन्। 

यसरी बन्यो हत्या योजना

गत साउन २२ गते राति सुतिरहेको अवस्थामा बञ्चरोले प्रहार गरी देउमतीको हत्या गरेको बुद्धिले प्रहरीसमक्ष बयान दिएका छन्। हत्या गर्नु दुई दिनअघि नै श्रीमतीलाई खाल्डो खन्दा कसैले नदेखून् भनी आवतजावत गर्ने मानिसको निगरानी गर्न लगाएका थिए। खाल्डो खनी तयार भएको दुई दिनपछि अर्थात् साउन २२ गते बुद्धिबहादुरले 'म सेपुखोला जान्छु मेरो उतै राति बसाइ हुन्छ, छोराछोरी डराउँछन्, सासूबुहारी सँगै सुत्नुहोला' भनी सल्लाह गरेर हिँडेका थिए। 

तर बुद्धिबहादुर राति फर्केर आफू छुट्टै कोठामा सुते। श्रीमतीले तीनपटक सम्म उठाउने प्रयास गरिन् तर नउठेपछि अन्तिम पटक ओढेको कपडा निकालेर बुद्धिबहादुरलाई आफू र सासू सुतेको ठाउँमा ल्याएको बयानका क्रममा बुद्धिले बताएका छन्।
 
उनले साउन २३ गते आमा हराएको भनी गाउँमा हल्ला गरेका थिए। उनले प्रहरी चौकी सेपुखोलामा भदौ २ गते आमा हराएको भन्दै खोजी गरिदिन हुलिया सहितको निवेदन पनि दिए। तर बुद्धिको व्यवहार अस्वाभाविक र शङ्कास्पद देखिएपछि प्रहरीले निगरानीमा राख्यो।
 
घटनास्थल लैखम विद्युत् आयोजनाको बाँध निर्माणस्थलसँगै जोडिएको गाउँ हो। आयोजनाले यसअघि विद्युत्गृह निर्माणस्थल खगेनकोट–१, दल्लीमा सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेको छ। पछिल्लो समय आयोजनाले सक्ला–१ लैखम, सक्ला–२ सेपुखोला, सक्ला–९ काप्तीका प्रभावित नागरिकलाई मुआब्जा दिने निर्णय गरेको छ। 

केही समयमै निवेदन सङ्कलन गरी मुआब्जा दिइने आयोजना विकास समितिले जनाएको छ । आयोजनाले प्रतिरोपनी चार लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा दिने गरेको छ। बुद्धिकी आमा देउमतीको नाममा लैखममा एक रोपनी पाँच धुर जग्गा रहेको प्रहरीको भनाइ छ। 

बुहारीको दबाब 

आफ्नो जेठाजुको छोरालाई समेत अंश लाग्ने सासूको नाममा रहेको जग्गा आफ्नो नाममा गराउन बुद्धिकी पत्नी शर्मिलाले पटक पटक दबाब दिने गरेकी थिइन्। देउमतीका श्रीमानको केही वर्षअघि मृत्यु भएपछि जग्गा देउमतीको नाममा नामसारी गरिएको थियो। जग्गा शर्मिलाका नाममा गर्न देउमती राजी नभएपछि हत्या योजना बुनिएको खुलेको छ। 

देउमतीका जेठा छोरा र बुहारीको समेत मृत्यु भइसकेको छ। जेठा छोरातर्फका नाति कामका लागि भारतमा रहेको र नातिनी कोहलपुरमा बसेर पढिरहेकी छिन्। देउमतीका नाममा रहेको जग्गा शर्मिलाका नाममा गराउन यसअघि कोसिस गरिएको थियो। तर मालपोत कार्यालयले अंशियार अरू पनि भएको अवस्थामा उनीहरुको सहमतीबिना नामसारी गर्न नमिल्ने बताएपछि बुद्धिका दम्पती रित्तै फर्किएका थिए। 

घरमा गइसकेपछि पनि शर्मिलाले जग्गा जसरी पनि आफ्नो नाममा गराउन दबाब दिइरहेको प्रहरीले बताएको छ। 'पटक पटक कि जग्गा आफ्नो नाममा गर्न कि त आमालाई नै मार्न दबाब दिएको देखिएको छ,' घटनास्थल पुगेर फर्किएका प्रहरी निरीक्षक सुवास भट्टले भने, 'नत्र छोडेर जाने धम्कीसहित बुद्धिलाई मानसिक रुपमा टर्चर दिने गरेको देखिन्छ। अन्त्यमा श्रीमान् श्रीमतीकै योजनामा हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।' 

प्रहरीले यसरी निकाल्यो लास 

खाडलमा पुरिएको लासलाई प्रहरी निरीक्षक भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले गत शनिबार मात्र उत्खनन गरेको थियो। लास सडिसकेको अवस्थामा भेटिएको भट्टले बताए। लास अन्यत्र लान सक्ने अवस्थामा नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र दल्लीका चिकित्सकलाई लैखम बोलाएर शवपरीक्षण गरिएको थियो।
 
हत्या अभियोगमा बुद्धिबहादुर र उनकी श्रीमती शर्मिलालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
जिल्ला अदालत जाजरकोटले उनीहरुलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न आदेश दिएको छ। दुवै लोग्नेस्वास्नीलाई आजीवन कारावासको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक बोहराले बताए। अबको १५ दिनभित्र हत्याको सबै अनुसन्धान प्रक्रिया सकिने प्रहरी प्रमुखको भनाइ छ। 

आमाबाबु जेलमा, छोराछोरीको बिचल्ली 

आमाबाबु नै हत्या अभियोगमा पक्राउ परेपछि उनीहरुका छोराछोरीको बिचल्ली भएको छ। डेढ वर्षका छोरा शर्मिलाको साथमै छन् भने ९ र ४ वर्षीया दुई छोरी र ७ वर्षीय छोरा हेरिदिने घरमा कोही नहुँदा बिचल्ली भएको हो। आमाबाबु जेल गएपछि निर्दोष बालबालिकाको शिक्षादीक्षा र पालनपोषणबारे सर्वत्र चिन्ता बढेको छ। रासस

सम्बन्धित समाचार-- यस्ता पनि छोरा : आफ्नै आमाको बञ्चरो हानी हत्या, अनि हरायो भन्दै आफैंले दिए निवेदन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell