
फलेवास (पर्वत) : शैक्षिकस्तर सुधारका लागि फेसबुकबाटै एक हप्तामा १० लाख रुपैयाँभन्दा बढी संकलन भएको छ।
आफूले पढेको विद्यालयको सुधारका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट यो अभियान थालेका हुन्। पर्वतको आर्थर डाँडाखर्कस्थित पञ्चकोसी उच्चमाविका पूर्व विद्यार्थीले यो अभियान चलाइरहेका छन्।
विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउन र निजी स्रोतमा शिक्षक राख्न पूर्व विद्यार्थी मञ्च गठन गरी फेसबुक म्यासेन्जरबाट सहयोग अभियान सञ्चालन गरिएको हो।
अभियानका क्रममा एक हप्ताको बीचमा ६० जनाभन्दा बढी पूर्व विद्यार्थीले मञ्चको संरक्षक सदस्य बन्दै रु १० लाखभन्दा बढी सङ्कलन गरिसकेको मञ्चका सल्लाहकार मनोज गुरुङले जानकारी दिए।
मञ्चले पूर्व विद्यार्थीबाट संरक्षक सदस्य बन्न १५ हजार, आजीवन सदस्य बन्न १० हजार र साधारण सदस्य बन्न ५ सय शुल्क तोकेको छ। सदस्य बनेर उठेको रकमबाट निजी स्रोतमा शिक्षक राखी अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने लक्ष्य राखिएको सल्लाहकार गुरुङले बताए।
'एक हप्ताको बीचमा स्वदेश र विदेशमा रहेका पूर्व विद्यार्थीमध्ये धेरै संरक्षक सदस्य बन्नुभएको छ,' उनले भने, 'हरेक दिन विदेश र स्वदेशबाट सहयोग रकम सङ्कलन हुने काम भइरहेको छ।'
विद्यालयका देश विदेशमा रहेका पूर्व विद्यार्थी एकै ठाउँमा भेला हुन कठिन भएपछि फेसबुक म्यासेन्जरलाई प्रयोग गरी भूतपूर्व विद्यार्थी मञ्च गठन गरिएको मञ्चका उपाध्यक्ष नारायण पौडेलले बताए। रासस