PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

किन अहिलेसम्म सनाखत हुन सकेन त्रिशुलीमा दुर्घटना भएको बसका यात्रुको?



सविन ढकाल

किन अहिलेसम्म सनाखत हुन सकेन त्रिशुलीमा दुर्घटना भएको बसका यात्रुको?

काठमाडौँ :  रौतहटबाट पोखरा गुडेको ग १ ख ३७०९ नम्बरको वस मुग्लिङ - नारायणघाट सडकको चण्डी भन्ज्याङनजिकै दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २२ जना पुगिसकेको छ। तर अझैसम्म उनीहरुको सनाखत हुन सकेको छैन। 

बिहान साढे ३ बजे भएको दुर्घटनाको अहिलेसम्म किन सनाखत हुन सकेको छैन त ?

प्रहरीले पाएको जानकारी अनुसार बसमा चालक र सहचालक गरी ४२ जना यात्रु रहेका थिए। गौरबाट ३० जना र चन्द्रनिगाहपुरबाट ७ जना यात्रु चढेको जानकारी छ। 

अन्य यात्रु बीच बाटोबाट चढेको अनुमान छ। प्रहरीले अहिलेसम्म गाडीका चालक र सहचालक जीवित छन् कि फरार भन्ने पनि पत्ता लाग्न सकेको छैन। 

चितवन ट्राफिक प्रहरीका प्रमुख राजन भेट्वालले पहिलोपोस्टसँग भने,  ‘अहिलेसम्म हामीले कति बेपत्ता छन् भन्ने थाहा पाउन सकेका छैनौँ। चालक र सहचालकको स्थिति पनि पत्ता लगाउन सकिएको छैन।‘

प्रहरीले घाइते भएका केही व्यक्तिको नाम ठेगाना पत्ता लगाए पनि मृतकको भने सनाखत हुन सकेको छैन। भेट्वाल भन्छन् – ‘गाडीमा सवार यात्रुहरुले एकै जनाको नाममा ४ देखि ५ जनाको टिकट काटेकाले मृतकको सनाखत हुन समस्या भएको हो।

त्यस्तै चालक र सहचालकले काउन्टरबाट हिँडिसकेपछि बीच बाटोमा यात्रु चढाउने र त्यसबारे काउन्टरमा जानकारी नहुँदा सनाखतमा समस्या हुने गरेको छ। 

लामो तथा छोटो दूरीका सवारीले यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने नियम भएपनि अहिले केही सवारीले टिकट नदिँदा यस्तो समस्या हुने गरेको छ।

​दुर्घटना १६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। अझै पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले खोजी कार्य तीव्र बनाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell