PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

त्रिशूली बस दुर्घटना : २२ मृतकमध्ये १० को मात्र पहिचान, सनाखत भएकामा दुई भारतीय पनि



सविन ढकाल

त्रिशूली बस दुर्घटना : २२ मृतकमध्ये १० को मात्र पहिचान, सनाखत भएकामा दुई भारतीय पनि

काठमाडौं : आज बिहानै त्रिशूलीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २२ पुगे पनि १० जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ।
 
रौतहटबाट पोखरा गुडेको ग १ ख ३७०९ नम्बरको बस मुग्लिङ-नारायणघाट सडकको चण्डी भन्ज्याङनजिकै दुर्घटनामा बिहान साढे ३ बजे दुर्घटनामा परेको थियो।
 
घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले यो समाचार तयार पार्दासम्म २२ मृतकमध्ये १० जनाको मात्र सनाखत भएको जनाएको छ। सनाखत भएकाहरुमा रौतहट मुडबेलुवाका राजेशप्रसाद यादव, चितरञ्जन यादव, राजेश यादव, रौतहट लौकाहाका गणेशकुमार शाह, रौतहट वसन्तपुरका बृजकिशोरी कुसवाह, जोकु शाह, जोगेन्द्र गिरी, प्रमोद राम रहेका छन्। यस्तै अन्य दुई मृतक यकन ठाकुर र शंकर ठाकुर भने भारतीय नागरिक भएको प्रहरीले जानकारी गराएको छ।
 
बसमा सहचालक समते ४२ जना यात्रु रहेका थिए। गौरबाट ३० जना र चन्द्रनिगाहपुरबाट ७ जना यात्रु चढेको जानकारी छ। बीचमा चढे-झरेको बारे खुलिसकेको छैन।
 
चालक र सहचालक जीवित छन् या फरार भन्नेबारे पनि अनुसन्धान भइरहेको चितवन ट्राफिक प्रहरी प्रमुख राजन भेट्वालले पहिलोपोस्टलाई बताए।
  
‘गाडीमा सवार यात्रुहरुले एकै जनाको नाममा ४ देखि ५ जनाको टिकट काटेकाले मृतकको सनाखत हुन समस्या भएको हो,' उनले भने। लामो तथा छोटो दूरीका सवारीले यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने नियम भए पनि अहिले केही सवारीले टिकट नदिँदा यस्तो समस्या हुने गरेको छ।
 
​दुर्घटनामा १६ जना घाइते भएको प्रहरीको भनाइ छ। अझै पनि नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले खोजी कार्य तीव्र बनाएका छन्। फोटो : रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell