काठमाडौं : नवनियुक्त परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मन्त्रालय मातहतका सबै कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन्।
मन्त्रीको शपथ लिइसकेपछि आज मन्त्रालयमा आयोजित पदस्थापन कार्यक्रममा मन्त्री महतले उपलब्ध स्रोत साधनको बढीभन्दा बढी उपयोग गरी काम गर्न निर्देशन दिए।
मन्त्रालय मातहतका सबै कार्यका बारेमा नियमित आफूलाई जानकारी गराउन निर्देशन दिँदै उनले नियुक्त भएर जाने सबै राजदूतलाई स्रोत साधनको अत्यधिक उपयोग गरेर काम गर्न आग्रह गरेका छन्। रिक्त बाँकी मुलुकमा पनि छिट्टै राजदूत पठाइने उनको भनाइ छ।
ठूलो सङ्ख्यामा नेपाली कामदार भएका मुलुकबाट स्वदेशमा भित्रिने विप्रेषणलाई कम आँकलन गर्न नहुनेमा जोड दिँदै उनले भने, 'ती देशमा जाने राजदूतले अरुभन्दा बढी काम गर्नुपर्छ। मानव संशाधन कम भएको छ भने थप्न म पहल गर्नेछु।'
भारत र चीन दुवै नेपालका लागि महत्वपूर्ण छिमेकी मुलुक भएकाले सुमधुर सम्बन्ध राख्नुपर्ने बताउँदै उनले सम्बन्ध थप उचाइमा पुर्याउन पहल गर्ने विश्वास दिलाए।
सत्तामा जो आए पनि राष्ट्रिय स्वार्थलाई संरक्षण गर्दै छिमेकीको चासो र चिन्तालाई पनि महत्वका साथ हेर्नुपर्ने उनको धारणा थियो। रासस