
मनाङ : नेपालका लागि भारतीय राजदूत रणजीत राय पाँचदिने भ्रमणका लागि हिमालपारिको जिल्ला मनाङ पुगेका छन्।
भारतीय राजदूतावासको सहयोगमा मनाङमा निर्माण गरिएको ऐतिहासिक गुम्बा तथा विभिन्न सम्पदाको निरीक्षणका क्रममा उनी मनाङ पुगेका हुन्।
हेलिकोप्टरबाट बिहान १०.४५ बजे उनी माथिल्लो मनाङ पुगेका छन्। राजदूत राय विकट गाविस फू गाउँमा ओर्लने कार्यक्रम भए पनि खराब मौसमका कारण माथिल्लो मनाङमा अवतरण गराइएको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताए। उनीसँगै सांसद तथा पूर्वमन्त्री टेकबहादुर गुरुङ पनि छन्।
राजदूत राय ‘आइसलेक', ऐतिहासिक मिलेरेपा गुफा, मनाङको गङ्गापूर्ण पुग्ने कार्यक्रम छ। भारतीय दूतावासको सहयोगमा तीन वर्षदेखि करिब रु तीन करोडको लगानीमा मर्मत भइरहेको खाङसारस्थित तारे गुम्बाको पनि उनले अवलोकन गर्नेछन्।