काठमाडौं : नवनियुक्त रक्षामन्त्री बालकृष्ण खाँणले राष्ट्रियताको सम्वर्द्धन, नेपाली जनताको स्वतन्त्रता र सुरक्षाका लागि नेपाली सेनाले गौरवशाली भूमिका निर्वाह गर्दै आएको बताएका छन्।
सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहालीपछि मन्त्रालय र मातहतको नेपाली सेनाको उच्च अधिकारीलाई निर्देशन दिँदै उनले मुलुकको संविधान र कानुन कार्यान्वयनमा पनि नेपाली सेनाबाट महत्वपूर्ण भूमिका निर्वाह हुँदै आएको बताए।
'अन्तर्राष्ट्रिय जनतामा समेत सेनाले नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा बढाइरहेको छ,' मन्त्री खाँणले भने, 'नेपाली जनतामा सेनाप्रति जुन विश्वास छ, त्यो विश्वासलाई अझै बढाउने कार्यलाई मूर्तरुप दिनुपर्छ।'
स्याङ्जाको मल्याङकोट गाविसमा २०१७ सालमा जन्मिएका नवनियुक्त मन्त्री खाँण २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा रुपन्देही जिल्लाको क्षेत्र नं ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा पार्टीका तर्फबाट युवा पुस्ताको पटकपटक नेतृत्व गरेका खाँण नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलको पूर्व अध्यक्ष पनि हुन्।
कांग्रेसको केन्द्रीय समिति सदस्य समेत रहेका उनले यसअघि २०६६ सालमा सिँचाइ मन्त्री र २०६१ सालमा शिक्षा राज्यमन्त्रीको जिम्मेवारी लिइसकेका छन्। रासस