काठमाडौं : पर्यटनमन्त्री जीवनबहादुर शाहीले आफू स्पष्टरुपमा काम गर्न चाहने व्यक्ति भएकाले गाडीमा झन्डा फहराउन मात्र मन्त्रालय नआएको पनि बताएका छन्।
मुलुकको प्रतिष्ठासँग जोडिएको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा गुणस्तर खस्किएको जनगुनासो बढेका बेला पर्यटन मन्त्री शाहीले एक हप्ताभित्र विमानस्थल सुधार गर्न सम्बन्धित पदाधिकारीलाई निर्देशन पनि दिएका छन्।
'विमानस्थलको शौचालयको दुरावस्था र लगेज व्यवस्थापनलाई सुधार गर्नुस्,' उनले भने, 'विमानस्थललाई सफा राख्नुस् एक हप्ताभित्र सुधार देखिनुपर्छ।'
मन्त्री शाहीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्समा जहाज थपेर गुणस्तरीय व्यवस्थापन गरी आन्तरिक विमानस्थल थप तथा सुधारका लागि योजनावद्ध काम गर्न उनले निर्देशन दिए।
यसैबीच, पर्यटनमन्त्री शाहीले पद बहालीपछि पहिलो निर्णयको रुपमा सङ्घीयताको सन्दर्भमा मन्त्रालयको कार्यक्षेत्र र सङ्गठनस्वरुप व्यवस्थापनका लागि कार्यदल गठन गर्ने निर्णय गरेका छन्।
'संविधान र ऐनमा व्यवस्था भएअनुसार' मन्त्रालयको कार्यक्षेत्र सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यको विश्लेषण गरी बाँडफाँड गर्ने, कानुन परिमार्जन गर्ने र सङ्गठनात्मक संरचना परिमार्जन गरी कर्मचारी व्यवस्थापन गर्नका लागि कार्यदल गठन गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता घनश्याम उपाध्यायले बताए।