PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

​कांग्रेसका मन्त्री : देउवाका अधिकांश पुराना, पौडेल, सिटौला र खड्काका नयाँ



रमेश वाग्ले

​कांग्रेसका मन्त्री : देउवाका अधिकांश पुराना, पौडेल, सिटौला र खड्काका नयाँ

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा नेपाली कांग्रेसका तर्फबाट १५ जना मन्त्रीहरु सहभागी भएका छन्। 

सँधैजसो बूढा र विगतमा अवसर पाएकाहरु नै दोहोरिने कांग्रेसमा यस पटक भने उल्लेख्य संख्यामा नयाँ अनुहारहरु परेका छन्। मन्त्रिपरिषदमा सहभागी १५ जना मध्ये ८ जना पुराना अनुहार छन् भने बाँकी सात जना नयाँ अनुहार छन्। 

पौडेलका अधिकांश नयाँ अनुहार, देउवाका पुराना

सभापति शेरबहादुर देउवाले मन्त्री बनाएका आठ मध्ये सात जना पुराना अनुहार छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलका अधिकांश नयाँ अनुहार छन्। 

सभापति देउवाले सिफारिस गरेका आठ जनामा जीवनबहादुर शाही मात्र नयाँ अनुहार हुन्। पाइलट पढेर फर्किएपछि जनताको सेवा गर्छु भनेर राजनीतिमा प्रवेश गरेका शाही संविधानसभा बैठकमा पूरा समय दिने मध्येमा पर्छन्। 

कर्णाली अञ्चलको हुम्लाबाट निर्विचित शाही पहिलो पटक मन्त्रिपरिषद् प्रवेश गर्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी पाएका छन्। 

उनीबाहेक देउवा पक्षबाट सिफारिस भएका उपप्रधानमन्त्री विमलेन्द्र निधि, तथा मन्त्रीहरु अर्जुननरसिंह केसी, डाक्टर प्रकाशशरण महत, बालकृष्ण खाँड, सूर्यमान गुरुङ, केशवकुमार बुढाथोकी र रमेश लेखक सबै पुराना अनुहार हुन्।  

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सिफारिस भएका मध्ये वाणिज्य मन्त्री रोमी गौचन थकाली यसअघि परराष्ट्र सहायक मन्त्री भइसकेका हुन् भने बाँकी सबै नयाँ अनुहार हुन्। 


शान्ति तथा पुनर्निर्माण मन्त्री बनेकी सीतादेवी यादव कांग्रेसको सिरहा सभापति हुँदा नै संविधानसभा सदस्य भइसकेकी थिइन्। जिल्ला सभापतिबाट सिधै १३ औं महाधिवेशनबाट पार्टीको कोषाध्यक्ष बन्न सफल भएकी यादव अहिले मन्त्रिपरिषदमा कांग्रेसका तर्फबाट प्रतिनिधितत्व गर्ने एक्लो मधेसी र महिला प्रतिनिधि हुन्।  

यस्तै पौडेल पक्षबाट नै सिफारिस भएका सिंचाइ मन्त्री दीपक गिरी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य हुँदै नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका हुन्। दाङबाट प्रतिनिधित्व गरी अघिल्लो पटक र यस पटक पनि सांसद् भएका गिरी मन्त्रिपरिषद्‍मा भने पहिलोपटक गएका हुन्। 


काठमाडौ क्षेत्र नम्बर आठबाट दुईवटै संविधानसभामा निर्वाचित नविन्द्रराज जोशी नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघका पूर्व महामन्त्री हुन्। चुनाव लडेका अधिकांश ठाउँमा विजय हासिल गरिरहेका जोशी आफू नेवार नभएर पनि नेवार संस्कृतिमा पारंगत भएर नेवार समुदायबाट नै चुनाव जितिरहेका छन्। उनी यसपटक नयाँ अनुहारका रुपमा मन्त्रिपरिषद्‍मा छिरेर उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन्।


सुर्खेतबाट प्रतिनिधित्व गर्ने सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानी मन्त्रिपरिषद्माग पहिलोपटक प्रवेश गरेका हुन्। ५६ सालमा नै सांसद भएका थानी त्यतिबेला संसद्को राज्य व्यवस्था समितिका सभापति भएका थिए। उनी पनि कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री हुन्।

कृष्ण सिटौला र खुमबहादुर दुबैका नयाँ

कृष्ण सिटौलाका तर्फबाट मन्त्रिपरिषद्‍मा सिफारिस भएका गगन थापा नेपाली कांग्रेसभित्रका आशलाग्दा युवा नेता हुन्। नेपाल विद्यार्थी संघको महामन्त्री भएका बेला २०६२/६३को आन्दोलनबाट स्थापित नेता थापा अघिल्लो संविधानसभामा समानुपातिक तर्फबाट सदस्य थिए। दोस्रो संविधानसभामा काठमाडौ क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थापाले संसद्मा् कृषि तथा जलश्रोत समितिको सभापतिको जिम्मेवारी सम्हालिरहेका थिए। 

नयाँ अनुहारका रुपमा मन्त्रिपरिषद्‍मा छिरेका उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन्। १२ औँ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय समिति छिरेका थापा ०७२ फागुनमा भएको १३ औं महाधिवेशनमा महामन्त्रीमा चुनाव लडी पराजित भएका थिए। अहिले उनी मनोनित कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य छन्।   


खुमबहादुर खड्काको तर्फबाट मन्त्रिपरिषद्माा छिरेका अर्का नयाँ अनुहार हुन्- शंकर भण्डारी। १२ औँ महाधिवेशनदेखि नै नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेका भण्डारी आफूलाई खुमबहादुर खड्काकै उत्तराधिकारीका रुपमा प्रस्तुत गर्छन्। उनले मन्त्रिपरिषद्‍मा वन तथा भू-संरक्षण मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

५६ सालको चुनावपछि शेरबहादुर देउवाको मन्त्रिपरिषद्‍मा  ४८ मध्ये १७ मन्त्री आफ्ना बनाएका खुमबहादुर खड्का भने यसपटक एक मन्त्रीको भाग लिएर बस्ने अवस्थामा पुगेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell