
काठमाडौं : नवनियुक्त स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफूले कुनै गल्ती नगरी काम गर्ने र गल्ती गर्न खोज्नेलाई सहयोग पनि नगर्ने बताएका छन्।
आज मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले अहिलेको पुस्ताको प्रतिनिधि भएकाले आफूले गलत गरे सिङ्गो पुस्तालाई अन्याय हुने र आफूप्रतिको विश्वास पनि गुम्ने भएकाले कुनै गल्ती नगरी काम गर्ने बताए।
‘मप्रतिको विश्वास भनेको एउटा पुस्ताप्रतिको विश्वास हो। त्यसैले मैले त्यो विश्वास तोड्नुहुन्न,' उनले भने, 'मैले सामान्य जिम्मेवारी पाएको होइन। म राम्ररी हेक्का राख्नेछु।'
स्वास्थ्य क्षेत्रमा रहेका समस्यालाई समाधान गर्न निष्ठापूर्वक सत्यका पक्षमा रही काम गर्ने उनको भनाइ छ।
पदभारपछि उनले पहिलो निर्णय युवा सरोकारको विषयमा गर्दै नेपाली युवा वैदेशिक रोजगारीमा रहेकाले उनीहरुसँग सम्बन्धित विषयमा पहिलो हस्ताक्षर गरेका छन्।
मन्त्री थापालाई स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण प्रतिवेदन गलत हुने गरेको विषयमा विशेषज्ञ समिति गठन भएको जानकारी गराएका थिए।
गलत प्रतिवेदनका कारण वैदेशिक रोजगारीमा जाने युवाले समस्या परेको भन्दै मन्त्रालयमा पटकपटक उजुरी दिने गरेका छन्। यही विषयलाई लक्षित गर्दै गठित यो विशेषज्ञ समितिले छानबिन गर्नेछ।
२०३३ मा सोलुखुम्बुमा जन्मिएका मन्त्री थापाले नेपाल विद्यार्थी सङ्घमा महामन्त्रीको पदभार पनि सम्हालिसकेका छन्। हाल काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित भई उनी सांसद छन्।