PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कान्तिपुर गाथा : ​ हाइवेमा कनिका



किशोर नेपाल

कान्तिपुर गाथा : ​ हाइवेमा कनिका

कनिकालाई आफनो स्कूटी फेलापार्न त्यति गाह्रो भएन। बग्गीखानाको रुपमा प्रख्यात भएको ट्राफिक मुख्यालयमा त्यो सुरक्षित थियो। बग्गीखाना पुगेर उसले आफनो स्कूटीको पहिचान गरी। प्रहरीले निषेधित क्षेत्रमा पार्किंग गरेको अपराधमा एक हजार रुपैयाँ जरिवाना गर्‍यो। कनिकाको विचारमा यो सोह्रै आना अन्याय थियो। उसलाई रिस नउठेको होइन। तर, त्यहाँ ऊ जति रिसाएपनि केही हुनेवाला थिएन। आफनो स्कूटी सम्हालेर ऊ लागि सुदिप्तीलाई भेटन अफिसतिर।

कनिकाले आफनो स्कूटीको कथा सुनाउँदा सुदिप्ती हाँसी रहेकी थिइ। कनिकाको जीवनमा यो पहिलो चोट थियो। यस्ता धेरै चोट नपाएसम्म मानिस पर्फेक्ट हुनै सक्दैन। सुदिप्ती आक्रोशले भरिएकी कनिकालाई अर्को एडभेन्चर स्टोरीको खोजमा पठाउन चाहन्थी।

सुदिप्तीले भनी, ‘हेर कनि, यतिबेला तँ तातेकी छेस। हिंड, पसलतिर जाउँ। रिल्याक्स मूडमा कुरा गरौंला। नयाँ प्रोजेक्टका बारेमा। एक्चुअल्ली आइ वाण्ट यू टु डु समथिंग न्यू।’

नयाँ प्रोजेक्टको कुरा सुनेर कनिका गम्किइ। ऊ त यही खोजी राखेकी थिइ। उनीहरु अफिसबाट उठे र पसलतिर लागे। सुदिप्तीले आफनो लागि फ्र्यापचिनो अर्डर गरी। कोल्ड आइटममा कनिकाको कुनै रुचि थिएन। उसले आफना लागि लंग व्ल्याक अर्डर गरी। त्यसपछि व्यागबाट सिगरेट निकालेर सल्काइ।

सुदिप्तीले भनी, ‘तँ पनि म जस्तै स्मोकर भै सकिस्।’

कनिकाले सिगरेटको प्याकेट सुदिप्तीतिर तेर्स्याइ र हाँस्न थाली। 

सिगरेटको धुवाँ तान्दै सुदिप्तीले भनी, ‘कनि, उड यू लाइक टू डू सम एडभेन्चरस रिपोर्टिंग अन आवर हाइ वे सिष्टम?’

कनिले उत्साहित हुँदै जवाफ दिइ, ‘व्हाइ नट । द्याट्स व्हाट आइ एम लुकिङ फर।’

सुदिप्तीले भनी, ‘त्यसो भए तँ मेरो कार लिएर पोखरा र चितवनको राउण्ड लगाएर आइज।’

कार चढेर हाइवे रिपोर्टिंगमा जाने कुरामा कनिका सहमत भइन। ऊ एक्लै सार्वजनिक बस चढेर जान चाहन्थी। कारमा आनन्ददायक सफर गरेर मानिसका दुःख र पीडा बुझ्न सकिँदैन भन्नेमा सहमत थिइ कनिका। उसले सुदिप्तीलाई बताइ, ‘मलाई कार चाहिन्न। म सार्वजनिक बसमा जान्छु। आइ वाण्ट टू फिल दि पिपुल। देयर कण्डिसन एण्ड अदर स्मलर थिंग्स। आइ क्यान टेक केयर अफ माइसेल्फ।’

कनिकाको कुरा सुनेर सुदिप्ती झन खुशी भइ। एकातिर उसको गाडी जोगियो। अर्कोतिर, रिपोर्ट पनि रियल आउने भो। कनिका भोलिपल्ट जाने भै। पहिले चितवन र त्यसपछि पोखरा। उनीहरु अफिस पुगे। सुदिप्तीले पचास हजार रुपैयाँ मेनटेनेन्स अलाउन्स दिइ कनिकालाई।

कनिका साँझ घर पुगी। भ्रमणको अवसर पाएर उ निकै गदगद भएकी थिइ। उसले मम्मी–पापालाई आफनो रिपोर्टिंग ट्रिपबारे बताइ। शुरुमा त दुवैले कनिकालाई निरुत्साहित गरे। कनिकाले घुर्क्याउन थालेपछि उनीहरुको जोड चलेन। त्यसपछि उनीहरुको कन्सर्न कनिकाको सुरक्षामा सीमित भयो। मम्मीले ठटेउलो पारामा भनिन्, ‘हजुरमुवाँले थाह पाइस्यो भने के होला ? यो केटी कुरै बुझ्दिन।’

कनिकाले मम्मीको अनुहारतिर हेरी र मुसुक्क हाँसी। त्यसपछि ऊ कोठामा गइ। हतार हतार मेसेन्जर अन गरी। यो चार्ली अनलाइन हुने बेला थियोे। कनिकाले क्लिक गरी। स्क्रिनमा चार्ली मुस्कुराइरहेको थियो। कनिकाले भनी, ‘तिमी आज धेरै खुशी हुनेछौ मसँग।’

‘कसरी ?’ चार्लीले जिस्क्याउने मूडमा सोध्यो । कनिकाले एकै सासमा सुदिप्तीसंगको डील बताइ। पचास हजार अलाउन्स पाएको पनि बताइ।
त्यसपछि भनी, ‘तिमी अर्को पटक छुट्टीमा आउँदासम्म मैले पनि अलिकति पैसा कमाइ सकेको हुनेछु।’
 
चार्ली खुशी भयो। उसलाई लागेको थियो, अब कनिकाको जीवन र दृष्टिकोणमा निकै ठूलो परिवर्तन देखिनेछ।

उनीहरु च्याटबाट बाहिरिए। मम्मी–पापासँगै डिनर खान कनिका डाइनिंग टेवलतिर लागी। उसलाई पापाले बसपार्क छाडिदिने भए। मम्मीले ड्राइफ्रुटको प्याकेट बनाइ दिइन्।

त्यसपछि ऊ सुत्न गई। धेरै बेरसम्म उसलाई निद्रा लागेन। ऊ आफनो भ्रमणको कल्पनामा चुर्लुम्म डुबी। कतिबेला निंदाइ पत्तो भएन। भोलिपल्ट बिहान ऊ चाँडै उठी र फ्रेस भइ। उसको पापा ब्रेकफाष्टका लागि उसलाई पर्खेर बसेका थिए। ब्रेकफाष्टपछि कनिकाले आफनो रुक्स्याक बोकी र पापासँगै लागी बसपार्कतिर । छुट्टिने बेलामा पापाले उसलाई एटीएम कार्ड र त्यसको कोड दिदै भने, ‘राम्रोसँग जानू। हडबडाउने होइन।’
कनिकाले हाइवे रिपोर्टिंग मुभमेण्टको पहिलो खुडकिलो टेकी।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको कान्तिपुर गाथा तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)


यो सिरिजका अन्य गाथा-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell