चितवन : नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट आज बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका सात जनाको प्रहरीले उद्धार गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार मुग्लिनबाट बालुवा लिएर नारायणगढतर्फ आउँदै गरेको ना३ख ४५५६ नंको ट्रक त्रिशूली नदीमा खसेको हो। ट्रक पानीमा डुबेको अवस्थामा छ। ट्रकबाट तीन बालबालिका, दुई महिला र दुई पुरुषको उद्धार गरिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा रहेका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार घाइते भएका उनीहरुलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ । घाइते हुनेमा चालक र सहचालक पनि छन्।
करिब बिहान ७ बजेतिर ट्रक खसेको अनुमान गरिएको छ। उनीहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोलीले उद्धार गरेको हो।
सोही क्षेत्रमा बिहीबार मात्रै यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा २२ जनाको मृत्यु, १६ जना घाइते र चार जना बेपत्ता भएका थिए । रासस