
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरुघाट बसाइको सम्झना गरेका छन्।
आरुघाटबासीको सामूहिक बधाई तथा शुभकामना ग्रहण गर्दै आज प्रधानमन्त्रीले आरुघाटको बसाइ निकै पवित्र, आत्मीय र ऊर्जापूर्ण भएको बताए। ‘२३/२४ वर्षको उमेरमा आरुघाटमा अढाई/तीन वर्ष अध्यापन गरेँ। त्यो बसाइ मेरो राजनीतिक जीवनमा सधैं उर्जाको स्रोत बनिरह्यो,' उनले सम्झिए, 'जीवनमा जुनकुनै उतारचढावमा पनि तपाईंहरुसँग बिताएका दिन कहिल्यै विस्मृतिमा गएनन्।’
प्रचण्डले गोरखाको आरुघाटस्थित भीमोदय माविमा पढाएका थिए।
आफू दोस्रोपटक जोखिमपूर्ण अवसरका रुपमा प्रधानमन्त्रीमा निर्वाचित भएको भन्दै उनले कार्यकाल उपलब्धिपूर्ण कामका लागि खर्चने समेत उनले प्रतिबद्धता व्यक्त गरेका छन्। ‘जोखिमपूर्ण अवसरका रुपमा दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएको छु। यो कार्यकाललाई उपलब्धिमूलक र परिणाममुखी बनाउनैपर्छ,' उनले टोलीसँग भने।
गोरखा आरुघाटबासीले उठाएका मागमा आफू संवेदनशील भएको भन्दै उनले आफ्नो तर्फबाट सक्ने सहयोग रहने प्रतिबद्धता पनि जनाए।
भेटमा आरुघाटबासीले भूकम्पबाट क्षति भएका संरचनाको शीघ्र पुनर्निर्माण, बुढीगण्डकी जलविद्युत आयोजको प्राथमिकता, आयोजनाका कारण डुबानमा परेका र पर्नसक्ने बस्तीहरुको उचित व्यवस्थापन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।