- सञ्चिता घिमिरे
हरिसिद्धिका सन्तोष केसी न्युनतम रु १३ तोकिएको भए पनि आफूले दैनिक १७ सम्म तिर्न बाध्य भएको बताउँछन्। हरिसिद्धिबाट लगनखेलसम्मको दुरी चार किमिभन्दा बढी नभए पनि उनी न्युनतमभन्दा चार रुपैयाँ तिर्न बाध्य छन्।
पेट्रोलियम पदार्थको भाउ बढ्दा सवारीको भाडा बढाउन हतार गर्ने सार्वजनिक सवारीले घट्दा भने पुरानै भाडादर लागू गर्ने गरेका छन्। भाडादर तोकिएर सूची टाँसिदा समेत लागू हुँदैन। कतिपय सवारी साधनले सूची समेत टाँस्दैनन्। सवारी साधनले लागू भएको भाडादर टाँस्नैपर्ने नियम छ।
यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले अनुगमन र कारबाहीमा ध्यान दिँदा मात्रै सडक नियम लागू हुने यातायात क्षेत्रका अगुवा राम थापा बताउँछन्। 'चालकले ट्राफिकले कारबाही गरिरहँदा नियम पालना गर्ने र ट्राफिकले बेवास्ता गर्नासाथ नियम नमान्ने गरेको पाइन्छ,' उनी भन्छन्।
केही यात्रु सवारी भाडाका बारेमा जानकारी नभएर र कतिपय जानकारी भएर समेत ठगिइरहेका हुन्। देखिने ठाउँमा भाडादर नहुनु र तोकिएकोभन्दा बढी भाडा लिँदा उजुरी गर्ने निकायका बारेमा जानकारी नहुने हुँदा यात्रु दैनिक ठगिन बाध्य छन्।
ट्राफिक प्रहरीको अनुगमन ज्यादै पातलो भएकाले यात्रु मारमा पर्ने गरेका छन्। 'सबैभन्दा मुख्य समस्या त आफू मर्कामा पर्दा न्याय पाउँछु भनेर यात्रु ढुक्क नै छैनन्,' थापाले भने, 'सार्वजनिक सवारीमा वर्षौंदेखि यात्रु मर्कामा पर्ने भए पनि अनुगमन र कारबाहीमा सरोकार भएका निकायले चासो देखाएका छैनन्। मिडियामा धेरै विषय उठान हुँदा त्यसलाई सम्बोधनका लागि मात्र अनुगमन हुने गरेको देखिन्छ।'
ज्येष्ठ नागरिकको पीडा
विद्यार्थी छुट मात्रै होइन ज्येष्ठ नागरिकलाई दिने छुट समेत सहचालकले सजिलै नदिने गरेको ज्येष्ठ नागरिकको गुनासो छ। चापागाउँका मेदिनी शर्मा ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारीले चढाउनै गाह्रो मान्ने बताउँछन्।'पहिले छुट दिनु नपर्दा बरु सजिलै चढाउँथे अहिले ज्येष्ठ नागरिकलाई गाडी रोक्न समेत गाह्रो मान्छन्,' उनले दुखेसो पोखे। अपाङ्गता भएका व्यक्ति पनि आफूलाई सार्वजनिक सवारीले चढाउनै नचाहने बताउने गर्छन्।
महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथु ललितपुरमा सार्वजनिक सवारीको अनुगमन र कारबाही बढाइएको दाबी गर्छन्। कारबाहीमा तीव्रता दिएपछि सवारी नियमको पालना गर्ने क्रम बढेको उनको भनाइ छ। 'ट्राफिक प्रहरीको कारबाहीसँगै यात्रु आफैँ पनि सजग हुन खाँचो छ,' उनले भने, 'बढी भाडा माग्नासाथ खबर गर्नुस् प्रहरीले तुरुन्त कारबाही गर्छ।'
यातायात व्यवसायी सङ्घ र यातायात व्यवस्था विभागबीच भएको पछिल्लो समझदारी अनुसार न्युनतम भाडादर १३ रुपैयाँ हो। यात्रुले सवारी चढेदेखि चार किमिसम्म यात्रा गर्दा १३ तिर्दा हुन्छ। काठमाडौँ उपत्यकाकै हकमा अधिकतम १९ किमिसम्म रु २५ सम्म भाडा लिन पाउँछन् तर सवारी साधनले १९ किमि वा त्यसभन्दा कम दुरीमा नै रु ५० सम्म भाडा लिँदै आएका छन्। रासस