काठमाडौं : बेलायती सेनाका पूर्व गोर्खा सैनिकहरुले आफूहरुमाथि बेलायत सरकारले विभेद गरेको गुनासो गरेका छन्।
पूर्व सैनिकको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड'सँग भेट गरी बेलायत सरकारसँग वार्ता गर्न र समस्या समाधानमा पहल गरिदिन आग्रह गरेको छ।
टोलीमा सहभागीहरुले २५ वर्षदेखि आफूहरु बेलायत सरकारसँग वार्तामा बसे पनि समस्या जहीँको तहीँ रहेको गुनासो गरेका थिए।
‘बेलायती सैनिकको एकै स्तरको पदमा बसेर काम गर्दा पनि नेपालीहरुलाई तलब कम दिइन्छ,' भेटमा पूर्व गोर्खा सैनिक कृष्णबहादुर राईले भने, 'कैयौं विभेद र असमानताहरु छन्। त्यहाँको हाउस अफ कमनको प्रतिवेदन समेत लागू भएको छैन।'
नेपाल समेत त्रिपक्षीय सन्धिअनुसार भर्ती गरिएका गोर्खा सैनिकलाई अधिकार दिलाउन नेपाल सरकारबाटै पहल गर्न पनि उनले अनुरोध गरे।
यसअघि पनि आफूले गोर्खा सैनिकका मागहरुका सम्बन्धमा पटकपटक कुरा उठाइसकेको जानकारी गराउँदै प्रधानमन्त्रीले राष्ट्रकै चासो भएकाले आफूले आवश्यक पहल गर्ने बताए।