
स्पानिस ला लिगा सान्तानडरको दोस्रो चरणमा रियल मड्रिडले कठिन जित हात पार्दा सहरी प्रतिद्वन्दी एथ्लेटिको मड्रिडले लागतार दोस्रो बराबरी खेलेको छ।
रियलले गएराती घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सेल्टाभिगोलाई २-१ ले हरायो। तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको खेलको ६० औं मिनेटमा मल्भारो मोराटोले गोल गर्दै रियललाई पहिले अग्रता दिलाए।
त्यसको ७ मिनेटपछि नै सेल्टाका फावियन ओरेलानाले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्र्याए। तर ८२ औं मिनेटमा टोनी क्रुसले गोल गरेपछि रियलले फेरी अग्रता बनायो र २-१ को जित हात पार्दै ३ अंक जोड्न सफल भयो। लगातार दोस्रो जितपछि ६ अंक जोडेको रियल शीर्ष स्थानमा छ।
रियलले जित हात पारेको दिन एथ्लेटिकोले भने नवप्रवेशी लेगानेससँग गोलरहित बराबरीमा रोकिएको छ। ला लिगामा एथ्लेटिकोको यो दोस्रो बराबरी हो। पहिलो खेलमा पनि एथ्लेटिको नवप्रवेशी क्लब अलाभेससँग बराबरीमै रोकिएको थियो। एथ्लेटिकोलाई बराबरीमा रोकेपछि पहिलो खेलमा सेल्टालाई हराएको लेभानेसले ४ अंक जोडेको छ।
ला लिगाकै अन्य खेलमा भ्यालेन्सिया आइबरसँग १-० ले पराजित भएको छ। आइबरको जितमा पेड्रो लियोनले निर्णायक गोल गरे। नयाँ सिजनमा भ्यालेन्सियाको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा भ्यालेन्सिया लस पालमससँग पराजित भएको थियो।
ला लिगा अन्तर्गत आज दोस्रो चरणका ४ खेल हुँदैछन्। नेपाली समय अनुसार राती १० बजे अलाभेस र स्पोर्टिङ गिाओन तथा लस पालमस र ग्रानाडाबीचको खेल हुनेछ। यस्तै १२ बजे बार्सिलोना र एथ्लेटिक विल्वाओ तथा भिल्लारियल र सेभियाबीच प्रतिस्पर्धा हुनेछ।