काठमाडौँ : नेकपा एमालेले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ पठाएको पत्रबारे जानकारी माग गरेको छ।
एमाले उपाध्यक्ष भीम रावलले संसदमा पत्रबारे जानकारी गराउन माग गरेका हुन्।
'प्रधानमन्त्रीबाट भारतका प्रधानमन्त्रीलाइ लेखेको विषय सामान्य हो भने यो संसदले जानकारी राख्ने अधिकार राख्छ कि राख्दैन', रावलले प्रश्न गरे, 'अविलम्ब जानकारी दिनुपर्यो।'
उनले मुलुक द्वन्द्वको अवस्था र अप्ठेरो अवस्थामा नरहेको उल्लेख गर्दै किन विशेष दुत पठाइयो भन्दै प्रश्न समेत गरे।
'कुटनैतिक मान्यता अनुसार विशेष प्रतिनिधिको आफ्नै परिभाषा छ', उनले भने, 'कुनै समस्या छ भने, द्वन्द्वको अवस्था छ भने पठाइन्छ। कुन त्यस्तो भूमरी सिर्जन भयो उपप्रधानमन्त्री जस्तो पदको व्यक्ति किन पठाइयो, त्यसको जवाफ चाहियो।'
उनले छिमेकी मुलुकसँग एमाले सरकारले राम्रो कुटनैतिक सम्बन्ध कायम गरेको दावी गरे। साथै भारतलाई संविधान संशोधनका विषयमा पत्राचारका विषयमा समाचार आएको भन्दै जानकारी माग गरे।
'नेपाली जनताले आफैँ निर्णय गर्नुपर्ने संविधान संशोधनको विषयमा हाम्रो छिमेकी भारतका प्रधानमन्त्रीलाई पत्रचार गर्नु भएको व्यापक रुपमा समाचारमा आएको छ', रावलले भने। उनले स्वाभिमानको विषयमा असर गर्ने कुनै काम नगर्न समेत सचेत गराए।
भिडियो हेर्नुस्-
प्रधानमन्त्री भन्छन्- सामान्य पत्र हो
प्रधानमन्त्री पुष्पकमल दाहालले भने पत्र सामान्य रहेको जिकिर गरेका छन्। शनिबार प्रधानमन्त्रीसँग सीधा कुरामा उनले पत्रबारे भने, 'छिमेकी मित्रराष्ट्र भारतलाई सरकारले पठाएको पत्रबारे प्रतिपक्षी दलका साथीहरुको प्रचार सुन्दा दुःख लागेको छ । औपचारिक कुटनीतिक विषयबाहेक पत्रमा कुनै कुरा उल्लेख गरिएको छैन । नेपालको राष्ट्रिय हित र सार्वभौमिकताबारे सरकार दृढ र प्रष्ट छ । मैले राष्ट्र हित विपरितको पत्र लेख्ने कुरा कल्पनासम्म गर्न सक्दिनँ । दुई देशीय सम्बन्ध सुदृढ गर्ने र उच्चस्तरीय भ्रमणबाहेक पत्रमा कुनै कुरा लेखिएको छैन । यो आधारहिन प्रचार हो । यस्तो प्रचारबाट एकछिन भ्रम दिन त सकिएला । तर, प्रकारान्तरमा गलत प्रचार गर्ने साथीहरुकै विश्वासनियता घट्छ भन्ने म ठान्छु।'सभामुखले के आन्दोलनमा उत्रन भनेकी हुन्?
रावलले सभामुख ओनसरी घर्तीले आन्दोलनमा उत्रन गरेको आह्वानबारे समेत समाचार आएको भन्दै त्यसबारे स्पष्ट गर्न माग गरेका छन्।'संविधान निर्माणका लागि कानुन निर्माणका लागि दिगोशान्तिका लागि काम गरिरहेको संसदका सभामुख महोदयबाट आन्दोलनबाट कसैलाई आह्वान गरिएको पढेँ', उनले भने, 'म त्यसको जानकारी पाउनु आवश्यक ठान्छु। स्थायित्व र दिगो शान्तिको मार्गमा डोर्याउनुपर्ने अवस्थामा सभामुखले आन्दोलनको कुरा गर्नुभएको हो।'