
काठमाडौँ : कांग्रेसभित्रै विद्रोहीको छवि बनाएका कांग्रेस नेता गगन थापा गत शुक्रबार स्वास्थ्य मन्त्री नियुक्त भए। काठमाडौ क्षेत्र नम्बर-४ मा पर्ने बुढानिलकण्ठ नगर समितिले लगत्तै उनको सम्मानमा कार्यक्रम राख्यो। कार्यक्रममा उनलाई भनियो, 'पहिले विकास मन्त्रालय नभएर मन्त्री भएकोमा खुशी लागेको थिएन, तर जनताका समस्या समाधानमा केन्द्रीि मन्त्रालय भएकाले अहिले खुशी नै छौँ।'
बुढानिलकण्ठका नगर सभापति गणेश कोइरालाले स्थानीय विकास प्राथमिक विषय भए पनि स्वास्थ्य मन्त्री भएर जाँदा सुरुमा आफूलाई कस्तो कस्तो लागेको बताए। ‘सुरुमा स्वास्थ्य मन्त्री बन्दा मलाई खुसी लागेको थिएन, तर स्वास्थ्य क्षेत्रका समस्या सोचेर ल्याउँदा मलाई अहिले ठिक लागेको छ’ सभापति कोइरालाले भने, ‘देशका जनताले सिटामोल नपाउने तर नेताहरु महंगा विदेशी अस्पतालमा उपचार गराउने अवस्थाको अन्त्यका लागि तपाईको महत्वपूर्ण भूमिका रहोस्।’
उनले देशको ढुकुटी नै रित्याउने गरी नेताहरु विदेश जानुभन्दा उनीहरुलाई विदेशमा उपचार गराउन हुने खर्चले स्वदेशका अस्पताललाई अत्याधुनिक बनाउन सुझाव दिए।
‘अब तपाई काठमाडौँ-४ को चिन्ता लिन छोड्नुहोस्। यहाँको चिन्ता हामी लिन्छौ,’ कोइरालाले भने, ‘अब तपाईँ कर्णालीमा सिटामोल नपाएका जनतालाई सहज रुपमा पाउने र गरिबले उपचार नपाउने अवस्थाको अन्त्यमा केन्द्रित हुनुस्।’
उनले गगन थापा नाममा धेरैको आशा रहेको भन्दै त्यसलाई विश्वासमा बदल्न लाग्न सुझाव दिए।
काठमाडौ-४ कै प्रतिनिधि तथा उद्योगी चिरञ्जीवीनिधि तिवारीले मन्त्री भएकोमा थोरै खुसी भए पनि सन्तुष्ट हुन नसकिएको बताए। ‘यही निर्वाचन क्षेत्रबाट चुनाव हारेकाहरु राष्ट्रपति र उपराष्ट्रपति छन्’ तिवारीले भने, ‘तपाई स्वास्य मन्त्री हुनु सामान्य खुशीको विषय हुन सक्छ तर यो क्षेत्रलाई पूरै सन्तुष्टिको विषय होइन।’
क्षेत्र नम्बर चारबाट अघिल्लो संविधानसभामा वर्तमान राष्ट्रपति विद्या भण्डारी पराजित भएकी थिइन् भने दोस्रो संविधानसभा चुनावमा उपराष्ट्रपति नन्दबहादुर पुन गगन थापासँगै पराजित भएका थिए।
निर्वाचन क्षेत्रका प्रतिनिधिले क्षेत्रकेन्द्रित नहुन र देशभर ध्यान दिन आग्रह गरे पनि थापाले भने निर्वाचन क्षेत्र केन्द्रित भएर भाषण गरे। ‘धोबीखोला करिडोर हाम्रै प्रयासबाट सुरु भएको छ, सडकका लागि पनि यो क्षेत्रमा नै बढी बजेट परेको छ’ स्वास्थ्य मन्त्री थापाले भने, ‘खानेपानीका लागि काठमाडौका सबै क्षेत्र भन्दा बढी बजेट यो क्षेत्रमा छ।’
उनले अघिल्लो आर्थिक वर्षमा कर्मचारी र अन्य क्षेत्रको असहयोका कारण केही करोड बजेट फ्रिज हुन पुगेको भन्दै सरस्वतिनगरदेखि कपन क्षेत्रको बाटो विस्तार गरिसकेर अर्को आर्थिक वर्षभित्र पूरै व्यवस्थित हुने बताए। उनले बाटो निर्माणमा अलिकति अनियमितता भएको आफूले थाहा पाएको भन्दै अनियमितता गर्ने आफ्नो जतिसुकै नजिकको भए पनि उसलाई छुट नदिने बताए।
कार्यक्रममा गगन थापालाई सम्मान दिने र फोटो खिच्नेको भिडले कार्यक्रम व्यवस्थापनमा नै समस्या भएको थियो।