
काठमाडौं : तेस्रो थ्रीअनथ्री नेबा प्रेसिडेन्ट कप बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष्द्को कबर्डहलमा हुने प्रतियोगितामा पुरुष र महिला दुवै क्याटेगोरीमा खेलाइनेछ।
पेरिविङ्कल सर्भिसले आयोजना गर्ने प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ १६ टीमको सहभागिता हुने आयोजकले बताएको छ।
पुरुषतर्फको विजेताले नगद १ लाख प्राप्त गर्नेछन् भने फस्ट अनरअफले ५० हजार तथा सेकेण्ड रनरअफले २५ हजार पाउनेछन् यस्तै महिलातर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउनेछन्। यस्तै मोस्ट भ्यालुएबल प्लेअर पुरुषले नगद २५ हजार तथा मोस्ट भ्यालुएबल प्लेअर महिलाले १५ हजार पाउनेछन्।
प्रतियोगिता डबल एलिमिनेसन सिस्टममा खेलाइने प्रतियोगितामा लगातार दुई खेल हार्ने टीम बाहिरिनेछ। प्रतियोगिताका संयोजक दिपेश घलेका अनुसार जित्ने टीमलाई एउटा पुल हार्ने टीम अर्को पुलमा राखेर खेलाइनेछ।
यदी पहिलो खेल हारेर दोस्रो खेल जितेको खण्डमा भने उक्त टीम अघिल्लो चरणमा प्रवशे गर्ने उनले बताए। यसरी हरेक चरणको खेल जित्दै जाने टीम च्याम्पियन बन्नेछ। महिला पुरुष दुवै विधामा एउटै सिस्टम रहेने पनि उनले बताए।
प्रतियोगिताका सम्पुर्ण खेलहरु फिबा अनुसार खेलाइने छ। प्रतियोगितामा सहभागिताका लागि पुरुषतर्फ ६ हजार र महिलातर्फ ४ हजार दर्ता शुल्क तोकिएको छ।
यसअघि भएको दुई संस्करणमा पुरुषतर्फ गोल्डेन गेट कलेज च्याम्पियन भएको थियो। महिलातर्फ भने पहिलो संस्करणमा प्राइम कलेज र दोस्रो संस्करणमा गोल्डेन गेट कलेज च्याम्पियन बनेको थियो।