PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

विनोद चौधरीको होटलछेउ गैडाको हत्या : दुई भारतीयसहित ४ लाई पुर्पक्ष



रासस

रत्ननगर : करेन्ट लागेर गैँडा मरेको घटनाविरुद्धको मुद्दामा जिल्ला अदालत चितवनले दुई भारतीय नागरिकसहित चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
 
जिल्ला न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले आज उक्त आदेश दिएको हो। अदालतले उक्त मुद्दामा अर्का एक जनालाई रु ५० हजार धरौटीमा रिहा गरेको छ भने अन्य चार जनालाई तारेखमा छाडिएको अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालले जानकारी दिए।
 
नौ जनाविरुद्ध जिल्ला अदालतमा यही भदौ ७ गते चितवन राष्ट्रिय निकुञ्जद्वारा दायर गरिएको मुद्दामा शुक्रबारदेखि थुनछेक बहस सुरु भएको थियो। थुनामा जानेमा भारत केरलाका दीपु शशी, उत्तराखण्डका रितेक भट्ट तथा चितवनका सुनिल महतो र जीवन महतो छन्।
 
यस्तै सो मुद्दामा सुवास गदाललाई रु ५० हजार धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी बरालले जानकारी दिए। साधारण तारेखमा छुट्नेमा विकास दराई, विरजा महतो, बुधराम चौधरी र ग्रीजलाल कछडिया छन्।
 
प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, सुशीलकुमार पन्त, अधिवक्ता विजयकान्त मैनाली, मेघराज पोखरेल र शार्दुल थापाले बहस गरेका थिए। यस्तै अधिवक्ता कमलराज पाठक, चूडामणि सापकोटा, प्रकाश थपलिया र नन्दलाल महतोले प्रतिवादीका तर्फबाट बहस गरेका थिए।
 
चौधरी ग्रुपले सञ्चालन गरेको ‘होटल मेघौली सेराइ’ अगाडि यही साउन २४ गते करेन्ट लागेर एउटा वयस्क पोथी गैँडा मरेको थियो। उक्त होटलका कार्मचारीको लापरबाहीका कारण करेन्ट लागेर गैँडा मरेको आरोपमा निकुञ्जले नौ कर्मचारीलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell