
लगातार तीन खेलमा जित हात पार्दै म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ। लिग अन्तर्गत आइतबार भएको खेलमा सिटीले वेष्टहमलाई ३-१ गोल अन्तरले हरायो।
नयाँ प्रशिक्षक पेप गोर्डिओलाको नेतृत्वमा सिटीले प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेड र चेल्सीसँगै लिगमा शतप्रति जित हात पारेको छ।
घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्टर्लिङले २ गोल गरे भने फर्नान्डिन्होले एक गोल गरे। वेष्टहमका लागि मिकाएल एन्टोनिओ १ गोल फर्काए।
जितपछि ३ खेलबाट म्यानचेष्टर सिटी ९ अंक जोड्दै शीर्ष स्थान उक्लेको छ। समान ९ अंक नै रहेको चेल्सी र म्यानचेष्टर युनाइटेड गोल अन्तरका आधारमा क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्।
आइतबारै भएको अर्को खेलमा वेष्ट ब्रोमिच अल्विओन र मिडल्स्ब्रोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।