
स्पानिस ला लिगमा बार्सिलोनाले कठिन जित हात पारेको दिन लगातार दोस्रो जित हात पार्दै लस पलमस शीर्ष स्थानमा उक्लेको छ।
गएरातिको खेलमा साबिक विजेता बार्सिलोनाले एथ्लेटिक विल्वाओलाई १-० ले पराजित गर्यो। बार्सिलोनाको जितमा इभान राकिटिचले निर्णायक गोल गरे। उनले २१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो।
गएराति नै भएको अर्को खेलमा ग्रानाडालाई ५-१ गोल अन्तरले पराजित गर्दै लस पलमस शीर्ष स्थानमा उक्लेको हो।
लस पलमसको जितमा नविल एल जारले २ गोल गरे। यस्तै केभिन प्रिन्स बोएटेङ, मोमो र सर्जियो अराजुओले १-१ गोल गरे। ग्रानाडाका लागि जेरेमी बोगाले १ गोल गरे।
जितसँगै २ खेलबाट लस पलमसको ६ अंक भएको छ। समान ६ अंक नै भएपनि बार्सिलोना र रियल मड्रिड गोल अन्तरका आधारमा क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्।
अन्य खेलहरुमा भियारियाल र सेभिया तथा अलाभेस र स्पोर्टिङ गिहोनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।