काठमाडौं : कानुनमन्त्री अजय शंकर नायकले संविधान कार्यान्वयको लागि आवश्यक पर्ने ऐन, कानुनहरु द्रुत गतिमा निर्माण भइरहेको बताएका छन्।
‘प्राथमिकताका आधारमा अहिले ऐन तथा कानुन धमाधम निर्माण गर्ने काम भइरहेको छ, मैले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु,' उनले भने।
रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा मन्त्री नायकले सरकारको प्रमुख दायित्व नै संविधान कार्यान्वयन गर्नु भएकोले आवश्यक विधेयक बनाउने काम भइरहेको भन्दै जसरी पनि संविधान कार्यान्वयन हुनेमा विश्वस्त हुन आग्रह गरे।
एक वर्षभित्र निर्माण गर्नुपर्ने कानुनहरु असोज ३ गतेभित्रै निर्माण गर्न समेत आफूले निर्देशन दिएको उनको भनाइ छ। भाषा आयोग, उच्च अदालत गठन, न्याय परिषद, न्याय सेवा गठन लगायत अन्य कुराहरुमा समेत कानुन निर्माण छिट्टै गरिने मन्त्री नायकको विश्वास थियो।
संविधानका ३१५ वटा ऐनमा शब्द संशोधन वा पुनर्लेखन गर्नुपर्ने भएकाले त्यसलाई पनि चाँडै टुंग्याउने गरी काम थालेको पनि उनले जानकारी दिए।
स्थानीय निकायको चुनाव हुन्छ
कानुन मन्त्री नायकले स्थानीय निकायको निर्वाचनसम्बन्धी बनेको विधेयक संशोधन गरेर गृहमन्त्रालयमा पेश गरेको जानकारी दिएका छन्।‘अहिले स्थानीय निकायको चुनाव हुन्छ कि हुँदैन भनेर व्यापक चर्चा भएको छ, चुनावको लागि राष्ट्रिय सहमतिको आवश्यक छ, सरकार अहिले गृहकार्यमा जुटेको छ,' उनले भने।
संविधान कार्यान्वयनको लागि पनि तीनवटै निकायको निर्वाचन संविधानले निर्दिष्ट गरेबमोजिम आगामी ०७४ माघ ७ गतेभित्रै सम्पन्न गर्नुपर्ने बाध्यता रहेकोले सरकारले त्यसको तयारी गरेको उनले स्पष्ट पारे।
संविधान संशोधनमा एमालेले नसघाउने निर्णय गरेको छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘एमाले पनि यो देशको जिम्मेवार पार्टी हो। उसले सहयोग गर्छ भन्नेमा म आशावादी छु।’