
भवानी भिक्षुको कथा 'टाइपिस्ट' लाई आधार मानेर बनेको छोटो फिल्म 'सावित्री' युट्युबबाट सार्वजनिक भएको छ। सन् २०१३ मा बनेको सो फिल्मलाई सुजित बिडारीले निर्देशन गरेका हुन्।
फिल्ममा अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा रहेकी छिन्। उनले कथा मन परेका कारण छोटो फिल्ममा पनि अभिनय गर्न आफू राजी भएको बताइन्। पहिलोपोस्टसँग कुरा गर्दै उनले भनिन्,'स्क्रिप्ट र कन्सेप्ट दुबै मन परेर नाईं भन्नै सकिनँ। फेरि मलाई नाइँ भन्न नसकिने काम गर्न मनलाग्छ।'
फिल्ममा वैवाहिक जीवनबाट असन्तुष्ट महिलाको मनोवैज्ञानिक चरित्रलाई चित्रण गर्न खोजिएको छ।
ओस्कर कलेजमा फिल्म स्टडिज गरेका निर्देशक सुजितले आफ्नो कलेजको फाइनल प्रोजेक्टका रुपमा 'सावित्री' बनाएका हुन्। 'एकादेशमा' छोटो फिल्म महोत्सवमा यो फिल्म पनि सहभागी भएको थियो। स्टुडेन्ट फिल्ममेकर्सको प्रतिस्पर्धामा यो फिल्म उत्कृष्ट ठहर भएको थियो।
१२ मिनेट लामो फिल्ममा केकीसँगै मन्जु देवकोटा, दिपेश भण्डारी, मन्जु गिरी र राज शर्माको मुख्य भूमिका रहेको छ। फिल्म सतिश बर्तौलाले निर्माण गरेका हुन्।