PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

चितवनको सौराहामा सुविधायुक्त पर्यटन सूचना केन्द्र बन्ने, बसपार्क र राप्तीकिनार छनोटमा



रासस

चितवनको सौराहामा सुविधायुक्त पर्यटन सूचना केन्द्र बन्ने, बसपार्क र राप्तीकिनार छनोटमा

रत्ननगर (चितवन) : नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगर सौराहामा एक करोड ३१ लाख रुपैयाँको लागतमा सुविधायुक्त ‘पर्यटन सूचना केन्द्र’स्थापना हुने भएको छ ।
 
पर्यटक विभागमार्फत बजेट परिचालन हुने गरी केन्द्र निर्माणको प्रक्रिया थालिएको हो। चितवनमा पर्यटन सूचना केन्द्रको अभावले आएका पर्यटक उचित सूचना नपाउँदा प्रभावित हुँदै आएका छन्।
  
'सूचना केन्द्र निर्माणका लागि ठेक्कासमेत भइसकेको छ,' पर्यटन विभागका सिनियर डिभिजनल इन्जिनियर कोषनाथ अधिकारीले भने, 'स्थान छनोट भएपछि काम सुरु हुन्छ।'
 
सूचना केन्द्रका लागि सौराहा बसपार्क क्षेत्र र राप्ती किनारको निकुञ्ज छेउको क्षेत्र छनोट भएको छ। दुई स्थानमध्ये कुन ठाउँमा निर्माण गर्ने भन्ने टुङ्गो नलागेकाले फिल्डको काम तत्काल सुरु गर्न सकिएको छैन।
 
क्षेत्रीय होटल सङ्घ चितवनका महासचिव राममणि खनालले पर्यटन प्रहरीको निगरानी रहने गरी सुविधायुक्त सूचना केन्द्र निर्माण गरिने बताए। पर्यटकका लागि चाहिने जानकारी, वन र वन्यजन्तुका गतिविधि, आनिबानी, नेपालका पर्यटकीय क्षेत्र र चितवनको पर्यटकीय गन्तव्य, भौगोलिक अवस्था तथा सांस्कृति पहिचान सबै कुरा सूचना केन्द्रमा राखिने उनको भनाइ छ। 
 
पर्यटन विभागबाट यसवर्ष सूचना केन्द्रसहित बसपार्क स्तरोन्नति, सोलार बत्ती तथा अन्य विभिन्न विकासका काममा सहयोग भएको पर्यटन व्यवसायी जीतु तामाङले जानकारी दिए। रुयोजना निर्माणका लागिसमेत बजेट माग भएको क्षेत्रीय होटल सङ्घले जनाएको छ।
 
सौराहा नेपालकै तेस्रो पर्यटकीय गन्तव्य हो। यहाँ दैनिक दुई हजार पाँच सय  पर्यटक बस्न मिल्ने क्षमता भए पनि आवश्यक भौतिक पूर्वाधार नहुँदा र नयाँ पर्यटकीय गन्तव्यमा पर्यटकलाई नलैजाँदा बसाइ लम्ब्याउन सकिएको छैन। फोटो : chitwantourism.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell