रत्ननगर (चितवन) : चितवनको मानवसेवा आश्रमले चार वर्षभित्र सडकपेटीबाट चार सय जनाको उद्धार गरेको छ।
सो अवधिमा उनीहरुमध्ये १२५ जनाको उपचार गराई परिवारमा पुनर्मिलन गराएको आश्रम चितवनकी अभियन्ता रुपा केसीले बताइन्। चितवन, काठमाडौँ र हेटौँडामा रहेको आश्रमले यसरी उद्धार गरी परिवारमा मिलन गराएको हो।
तीन जिल्लामा गरी अहिले १५० जना असहायले सेवा पाइरहेका छन्।
सडकपेटीमा कष्टकर जीवनयापन गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिकरुपमा विक्षिप्त भएकालाई आश्रमले उद्धार गरी उपचार तथा पालनपोषण गर्दै आएको छ।
अहिले मकवानपुरमा दुई सय जना बस्न मिल्ने करिब चार करोड ५० लाख रुपैयाँको लागतमा मानवसेवा आश्रमको भवन निर्माण कार्य जारी रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। विदेशमा बस्ने नेपाली र नेपालमै रहेका सहयोगीबाट आश्रम सञ्चालित छ।
यसैबीच, स्थापनाको चारवर्ष पूरागरी आश्रम आज पाँचौँ वर्षमा प्रवेश गरेको छ।
आश्रमका सहयोगी अरुण पीडित भण्डारीले सडकपेटीबाट उठाएर सेवा गर्नु महत्वपूर्ण कार्य भएको भन्दै सबैले सहयोग गर्नुपर्नेमा जोड दिए। २०६६ सालदेखि सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन संस्थाले साँचो जीवन निर्माण अभियान सञ्चालन गरेको थियो। यसैलाई आधार बनाई २०६९ भदौ १३ गतेबाट आश्रमले सेवा सुरु गरेको थियो।रासस