
काठमाडौँ : प्रधानमन्त्रीको आव्हानमा बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा मंगलबार उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधि र एमले उपाध्यक्ष भीम रावलबीच जुहारी चल्यो।
प्रचण्डले स्थानिय तहको पुर्नसंरचना र निर्वाचनको विषयमा छलफलका लागि बोलाएको बैठकमा संविधान संशोधनको विषयले प्रवेश पाएको थियो।
'संविधान संशोधनबारे नेपाल भित्र कुराकानी गर्नुपर्यो नि! नेपाल बाहिर गरेर हुन्न' रावलले बैठकमा आफूले राखेको धारणाबारे पहिलोपोस्टसित भने, 'भारतीय प्रधानमन्त्रीलाइ पठाएको पत्र बारे के हो भन्यौँ?'
जवाफमा निधिले सेयरिङमा मात्र भएको बताएको रावलले उल्लेख गरे।
'उपप्रधानमन्त्री विमलेन्द्र निधीले बाहिर गरेको होइन। सेयरिङ गरेको हो भन्नुभयो। संविधान निर्माणका बेलामा पनि सेयरिङ भएको हो भन्नुभयो' रावलले एमालेको जिज्ञासामा निधिको जवाफबारे भने।
तर आफूले निधीको संविधान निर्माणको धारणाबारे खण्डन गरेको उनले बताए।
'हैन, संविधान निर्माणका बेला विदेशीहरुसँग मस्यौदा लिने वा कसरी बनाउँ भनेर कसैले पनि(सेयरिङ) गरेको छैन भनेर खण्डन गर्यौँ।'
स्थानिय तहबारे छलफल
बैठकमा एमालले स्थानिय तह निर्धारण आयोगको प्रतिवदेनको पक्षमा धारणा राखेको थियो। परिमार्जन गर्ने हो भने कस्तो बनाउने हो सरकार र सरकारमा रहेका दलहरुको स्पष्ट धारणा आउनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले धारणा मागेको थियो।'स्थानिय निकायको निर्वाचन छिटो भन्दा छिटो गर्नुपर्छ। स्थानिय तह पुर्नसंरचना आयोगको प्रतिवदेनका लागि हामीले पहिला मापदण्ड दिएका छौँ। मापदण्डमा सरकारले केही सोचेको हो भने प्रष्ट पार्नुपर्यो', रावलले भने।
प्रधानमन्त्री प्रचण्डले भने बैठकमा स्थानिय तहको निर्वाचन गर्ने सरकारको तयारी रहेको बताएको थिए। उनले आफूले प्रारम्भिक छलफलका लागि बैठक डाकेको उल्लेख गरेका थिए।
बैठकपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय निकाय पुर्नसंरचना आयोगले बुझाएको प्रस्ताव अव्यवहारिक भएको भन्दै व्यवहारिकताका आधारमा स्थानीय निकायको पुर्नसंरचना गर्नुपर्ने धारणा आएको बताए।
नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जनताले पाउँदै आएको सेवासुविधावाट बञ्चित नहुने गरी व्यवहारिक रुपमा पुर्नसंरचना गर्नुपर्ने धारणा आफूहरुले राखेको उल्लेख गरिन्।