
काठमाडौं : भदौ २२ गतेदेखि ब्राजिलमा सुरु हुने पारा ओलम्पिकमा नेपालबाट जम्मा दुई खेलाडी सहभागी हुँदैछन्। तर नेपाली टोली भन्ने जम्बो छ।
खेलाडी, प्रशिक्षक र पदाधिकारी सहित १६ जनाको जम्बो टोली बुधबार ब्राजिल जाँदैछ।
पारा ओलम्पिकमा नेपालबाट पौडीमा लक्ष्मी कुँवर र एथ्लेटिक्समा विक्रमबहादुर रानाले प्रतिस्पर्धा गर्नेछन्। छविलाल चौधरीले रानाको ‘रनर गाइड’का रुपमा काम गर्नेछन्। चार वर्षअघि लण्डनमा भएको पारा ओलम्पिकमा पनि रानाले सहभागिता जनाएका थिए।
पारा ओलम्पिक भदौ २२ देखि असोज २ गतेसम्म आयोजना हुनेछ। यसअघि ब्राजिलमै भएको ३१ औं संस्करणको गुष्मकालीन ओलम्पिकमा पनि नेपालबाट खेलाडीभन्दा पदाधिकारी बढी गएका थिए।
ब्राजिल जाने पारा ओलम्पिक टोलीलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले बिदाई गरे। यस्तै युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री श्रीपालीले ‘४२औँ चेस ओलम्पियाड’मा भाग लिन जाने खेलाडीलाई पनि सफलताको शुभकामना दिँदै बिदाई गरे।
भदौ १६ देखि २९ गतेसम्म अजरबैजानको बाकुमा हुने ‘चेस ओलम्पियाड’मा भाग लिने जाने नेपाली टोलीमा पनि खेलाडी र पदाधिकारीको संख्या बराबरी जस्तै छ। चेस ओलम्पियाडमा नेपालबाट १० खेलाडी र दुई कप्तानले भाग लिनेछन्। तर अजरबैजान जाने नेपाली टोलीमा १९ सदस्य छन्।
बुधबार अजरबैजान जाने टोलीमा पाँच-पाँच पुरुष तथा महिला छन्। पुरुषमा भूपेन्द्र निरौला, सजिन महर्जन, केशव श्रेष्ठ, क्षितिज भण्डारी र विलमलाल श्रेष्ठ तथा महिलामा सिन्दिरा जोशी, शान्ता थापा, मोनालिसा खम्बु, सुजना लोहनी र अस्मिता अधिकारी छन्।
‘खेलाडी’ भएरै बाँच्ने आधार तयार गर्छु : खेलकुद मन्त्री
खेलाडीहरुको बिदाई कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले खेलाडीलाई ‘खेलाडी’ नै भएर बाँच्न सक्ने आधार तयार गर्नु आफ्नो लक्ष्य भएको बताएका छन्।नेपाली खेलकुदलाई नीति, विधिमार्फत सुधार गर्ने आफ्नो सोच रहेको बताउँदै उनले भने, 'तपाईँहरुमा पनि हामी खेलाडी हौँ भन्ने गर्वको भावना जागोस्, म त्यसमा लागिपर्नेछु।'