काठमाडौं : स्वास्थ्य मन्त्री गगनकुमार थापाले एक हप्ताभित्र कार्यतालिका सहितको सयदिने कार्ययोजना पेस गर्न मन्त्रालय मातहतका महाशाखाका प्रमुखलाई निर्देशन दिएका छन्।
आज स्वास्थ्य सेवा विभाग टेकुमा विभिन्न महाशाखाका प्रमुखसँग भेट गरी उनले छोटो समयमा स्वास्थ्य क्षेत्रमा उपलब्धिमूलक काम गर्नुपर्ने भएकाले कार्ययोजना पेस गर्न निर्देशन दिए।
विभागका महानिर्देशक डा. पुष्पा चौधरीले विभागको गतिविधिका बारेमा मन्त्री थापालाई जानकारी गराएकी थिइन्। जानकारीपछि मन्त्री थापाले आपूर्ति महाशाखा, स्टोर र बिमा कार्यक्रमको कार्यलयको निरीक्षण गरेका थिए।
सोमबारदेखि मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखसँग काम कारबाहीबारे ‘ब्रिफिङ’सुरु गरेका थापाले सोमबार अनुगमन, चिकित्सक र योजना महाशाखाका प्रमुखसँगको ब्रिफिङ सुनेपछि सोही निर्देशन दिएका थिए।
स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका लागि मन्त्री थापाले स्वास्थ्य क्षेत्रका विज्ञ डा. केदारभक्त माथेमा र पूर्व मुख्यसचिव लीलामणि पौड्यालसँग पनि भेट गरी छलफल गरेका छन्।रासस