PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

दक्षिणी सिमानामा भारतीयको चहलपहल, मदिरा पिउन नेपाल छिरेका ४५ जना पक्राउ



राधेश्याम पटेल

दक्षिणी सिमानामा भारतीयको चहलपहल, मदिरा पिउन नेपाल छिरेका ४५ जना पक्राउ

वीरगन्ज : बिहारमा मदिरामाथि लगाइएको प्रतिबन्धका कारण सीमावर्ती तराईमा  भारतीयहरुको चहलपहल बढेको छ। सयौंको संख्यामा दैनिक भारतीय नागरिक मदिरा पिउन नेपाल छिर्ने गरेका छन्।
 
यसै क्रममा मदिरा पिउनकै लागि नेपाल प्रवेश गरेका ४५ भारतीय नागरिक पर्सा प्रहरीको नियन्त्रणमा परे। पक्राउ परेका सबैलाई एक हजारको जरिवाना काटी एक पटकका लागि चेतावनी दिएर प्रहरीले छाडेको छ।
 
प्रहरी चौकी इनार्वको टोलीले वीरगन्ज–रक्सौल मितेरी पुल नजिक नेपालकै भूमिबाट उनीहरुलाई समातेको हो। बाँसबारीमा खुलेका पसलमा छापा मारी उनीहरुलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक डा. राजुबाबु श्रेष्ठले बताए। बाँसबारी शंकराचार्य गेटभन्दा पश्चिममा पर्छ।
 
सीमा क्षेत्रमा यस्तो गतिविध बढेपछि खुद्रा मदिरा पसल सञ्चालनमा पनि वृद्धि भएको छ। पर्सामा मात्र दुईसय भन्दा बढी मदिरा तथा नास्ता पसल सञ्चालनमा छन्।
 
भारतीयहरुको आगमन बढेसँगै सीमा क्षेत्रमा असुरक्षा तथा यौनजन्य गतिविधि बढने स्थानीयले आशंका गरेका छन्। सीमा क्षेत्रमा सञ्चालित होटलहरुमा केही यौनकर्मी पनि अनैतिक गतिविधि सञ्चालनमा रहेको उनीहरु बताउँछन्।

बिहारमा मुख्यमन्त्री नितिश कुमारले मदिरा निषेध गरेपछि सीमा जोडिएको नेपाली भूमिमा आएर रक्सी पिउनेहरु बढेका छन्।   (प्रतीकात्मक फोटो : walesonline.co) 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell