
काठमाडौं : संविधानसभाबाट सङ्घीय गणतन्त्र नेपालको संविधान जारी भएको स्मरण गर्दै आगामी असोज २ देखि ४ गतेसम्म संविधान दिवस भव्य रुपमा मनाइने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज बसेको संविधान दिवस मूल समारोह समितिले यस्तो निर्णय गरेको हो।
बैठकले प्रधानन्यायधिश, सभामुखसहित उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, राज्यका प्रमुख निकायका पदाधिकारी, राजनीतिक दल, जनसमुदाय र संघसंस्थाका प्रतिनिधि समेतको सहभागिता रहेको मूल समारोह समिति गठन गरेको छ।
यस अवसरमा असोज ३ गते बिहान ८ वजे सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यतामा मूल समारोहको आयोजना गरिनेछ।
संविधान दिवस मूल समारोह समितिमा प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री, मन्त्री, पूर्व प्रधानमन्त्री, उपसभामुख, पूर्व सभामुख, राज्यमन्त्री सदस्य रहेका छन्।
असोज २ गते मुलुकभर महानगरपालिका, उपमहानगरपालिका र गाविसले आआफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झन्डा एवम् ब्यानर सजाई शृङ्गार र सफाइ गर्ने कार्यक्रम बनाइएको छ।
असोज ३ गते मुख्य समारोहका अतिरिक्त नेपाली सेनाद्वारा विगुल बजाउने, तोप र बन्दुकको बढाइँ गर्ने, राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदको सम्मानका लागि चिरशान्तिको राष्ट्रका तर्फबाट उच्च सम्मान र श्रद्धाञ्जलि प्रकट गर्दै धार्मिक पूजापाठ गर्ने कार्यक्रम छ। ४ गते रेडियो नेपालबाट फूलबारी तथा लोकदोहोरी गीत सम्मेलनको आयोजना गर्ने, साँझ दीपावली गर्ने कार्यक्रम तय गरिएको छ।