
राजविराज (सप्तरी) : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय निकायको निर्वाचन हुन नसक्ने दाबी गरेका छन्।
राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्व सरकारले मङ्सिरमा स्थानीय निकायको चुनाव घोषणा गरे पनि वर्तमान सरकारले चैतमा स्थानीय निकायको निर्वाचन हुन्छ भनेर अन्योलमा पारेको आरोप लगाए।
आउँदो चैतमा समेत स्थानीय निकायको चुनाव नभए २०७४ को मङ्सिरमा तीनतीन वटा चुनाव हुन गाह्रो हुने भन्दै उनले राजनीतिक अन्योलको अन्त्य गरी तत्काल स्थानीय निकाय चुनावको मिति तोक्न सरकारलाई आग्रह गरे।
नेता थापाले वर्तमान सरकारले भारत भ्रमण गर्नुअगाडि संविधान संशोधन गरेर जाने आश्वासन दिनु नेपाली जनतालाई आँखामा छारो हाल्नुबाहेक केही नभएको पनि आरोप लगाए।
उनले संविधान संशोधन लगायत अन्य मुद्दा आन्तरिक मामिला भएकाले यसलाई सबै दल मिलेर टुंग्याउनुपर्नेमा जोड दिँदै थापाले हिन्दु धर्म संरक्षण र संवर्द्धनका लागि नेपाललाई हिन्दुराष्ट्र कायम गर्नुपर्ने जिकिर गरे।रासस