
काठमाडौं : पार्टी तथा संगठनमा जिम्मेवारी नपाएका कांग्रेस नेता-कार्यकर्ताहरुले दबाब अभियान थालेका छन्।
नेपाल विद्यार्थी संघबाट जिम्मेवारीमुक्त भएका तथा तरुण दल, महिला संघ र पार्टीभित्रै जिम्मेवारी नपाएका नेता-कार्यकर्ताहरुको भेलाले आज दबाब अभियानको घोषणा गरेको हो। पार्टी नेतृत्वलाई क्षमता र क्रियाशीलताको आधारमा जिम्मेवार दिनका लागि पनि यो समूहले दबाब दिनेछ।
नेविसंघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहको संयोजनमा गठन भएको २१ सदस्यीय दबाब अभियानले आसन्न तरुण दल र महिला संघको अधिवेशनमा क्षमतावान प्रतिनिधिलाई मात्र सहभागिता गराउने निर्णय गरेको छ।
स्थानीय निकाय लगायतका तीन तहको निर्वाचनमा समेत कांग्रेसको जित सुनिश्चित गराउनका लागि पार्टीलाई ध्यानाकर्षण गराइने संयोजक शाहले बताए।
अभियानमा प्रतिमा गौतम, गुरु बराल, विष्णु पन्थी, उमा शिवाकोटी, बलदेव तिमल्सिना, प्रभात दाहाल, निलकण्ठ रिजाल, प्रमोदहरि गुरागाई, बैकुण्ठ श्रीवास्तव, युवराज पाण्डे, लिलाबल्लब दहाल लगायत सदस्य रहेका छन्।
अभियानका सल्लाहकारमा रञ्जित कर्ण, रामकृष्ण चित्रकार र सुवास पोखरेललाई चयन गरिएको छ।
अभियानमा नेविसंघका पूर्व महामन्त्री, उपाध्यक्ष तथा सहमहामन्त्रीहरुको बाहुल्य देखिन्छ। यो समूहले पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेतालाई भेटेर दबाब दिने योजना रहेको संयोजक शाहले जानकारी दिए।